प्रचण्डले फेरि फाले कम्युनिस्ट एकताको ‘कार्ड

काठमाडौं असार १९ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिस्ट एकताको कार्ड फालेका छन् ।आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकतामै जोड दिनुपर्ने बताउँदै फेरि कार्ड फालेका हुन् ।प्रचण्ड नेतृत्वको माओवादी केन्द्र कांग्रेससहितको गठबन्धन सरकारमा छ । यस्तो बेला पनि कम्युनिस्ट एकतामै जोड दिँदै फेरि उनले कार्ड फाले ।

कांग्रेससँगको सम्बन्धमा उतारचढाब भएपछि प्रचण्डले कम्युनिस्ट एकताको विषय उठाउने गरेका छन् । आगामी संसदीय र प्रदेश चुनावमा कांग्रेसले माओवादीलाई पाउनुपर्नेभन्दा कम सिट दिन लागेको भन्दै केही समयअघि पनि प्रचण्डले यस्तै ‘धम्की’ दिँदै आएका थिए ।आज पुनः उनले यस विषयलाई जोडतोडका साथ उठाएका हुन् ।

प्रचण्डले बैठकमा फेरि कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकता औँल्याउँदै सदस्यहरूको रायसमेत माग गरेको एक नेताले बताए ।उनले आइतबार बिहानमात्रै आफ्नो तत्कालीन नेकपाका केन्द्रीय सचिवालयमा रहेका नेताहरूसँग अनौपचारिक छलफल भएको जानकारी दिए । भ्याएसम्म आजै तत्कालीन सचिवालयमा रहेका बहुमत सदस्यको बैठक बस्ने तयारी भएकोसमेत भएको बताइएको छ ।

आजको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी चयनको लिखित प्रस्ताव पेश भएको छ । बैठकमा स्थायी कमिटी, पोलिटव्युरो र पदाधिकारी चयनको लिखित प्रस्ताव पेश गरेका हुन् ।प्रचण्ड र माधव नेपालको केपी शर्मा ओलीसँगको खटपटपछि करिब दुई वर्षअघि नै नेकपा विखण्डनतर्फ गएको थियो । केही समयपछि सर्वोच्च अदालतले नै नेकपा खारेज गरिदिएर एमाले र माओवादी केन्द्र ब्युँत्याइदिएको थियो ।

त्यसयता प्रचण्ड कांग्रेससँगको सहकार्यमा छन् । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको हानाथापको असरस्वरुप प्रचण्डको अगुवाइमा पुनः नेकपा ब्युँताउने खेल भइरहेको कतिपयको विश्लेषण छ । यसबाट उत्साहित भएर उनले आज कम्युनिस्ट एकताको मुद्दा अघि सारेको हुनसक्ने बताइएको छ ।यसअघि अर्कोतिर वामदेव गौतम पनि नेपाल एकता अभियानमा जुटिसकेका छन् । यद्यपि, उनको अभियानमा विवाद आएको छ ।