बालेनका नगर प्रहरीले खोसेको मकैको ठेला यी व्यक्तिले गरिदिए फिर्ता, चौतर्फी प्रशंसा

सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य र उनकी पत्नी सीताको मकैको ठेला फिर्ता भएको छ ।तिलक बस्नेतले उनीहरुको ठेला फिर्ता गर्न सहजिकरण गरिदिएका थिए । चेतेन्द्र आचार्य दम्पत्तीको मकैको ठेला नगर प्रहरीले उठाएको भिडिओ अहिले भाइरल भएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको समेत आलोचना भएको थियो ।

उनीहरुलेले प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न र मौसमअनुसारका फलफूल बेच्न थालेको १४ वर्ष भयो । आफूले खाइनखाई जोडेका पाँचवटा गाडा अहिलेसम्म नगर प्रहरीले उठाएइसकेको उनीहरुले बताएका छन् ।

आचार्यले आफूले पटक–पटक महानगर प्रहरीलाई घुस दिँदै आएको र यो पटक घुस दिन नमान्दा आफ्नो ठेला खोसिएको बताए । ‘यसपालि त नगर पुलिसले मागेको घूस नदिएरै मेरो गाडामा आँखा लगायो’ उनले भने, ‘नगरपालिकाको सइसाप हुनुहुन्छ । उहाँले ५ हजार माग्नुभएको थियो । हामीले दिएनौं’

उनले भने, ‘उहाँलाई दिने पैसाले त हाम्रो छोराछोरीलाई खुवाउन हुन्छ भन्ने ठान्यौं । हामीले पैसा नदिएपछि दुःख दिन थाल्यो । पैसा नदिएपछि उहाँले नै प्रहरी बोलाएको पो हो कि । नगरपालिकाले लास्टै पेलिरहेको छ । मकै पोलेर बूढाबूढीले दैनिक २ हजार ५ सय कमाउँथ्यौं । मैले १५ सय र बूढीले १ हजार । मकैको सिजन नहुँदा साग बेच्थ्यौं । पहिला अलिअलि पैसा माग्थ्यो । दिन्थें । गाडा र सामान लाँदैनथ्यो । सडकमा व्यापार गर्नेलाई ५ सय लिँदो रहेछ । मलाई पनि ५ हजार मागेको थियो’

‘तिमीहरू दिनमा २–३ हजार कमाउँछौं मलाई दिन सक्दैनौं’ भन्दै नगरपालिकाका प्रहरीले आफूलाई धम्क्याउने गरेको पनि चेचेन्द्रको दम्पतीले बिलौना गर्दैै भने । उनले फेरि भने, ‘पैसा नदिएपछि जहिले दुःख दिन थाल्यो । दुःख दिएपछि दुई दिनअघि त बूढीले नगर पुलिसलाई अगुल्टोले नै झोसिदिएछ । त्यो रिस पनि हुन सक्छ, हामीलाई देखिसहँदैन । कान्ति अस्पतालको गल्लीमा बस्दा लखेटेर सामाखुसी जाने ओरालोमा पुर्‍याउँथ्यो । कहिले महाराजगन्ज चोकमा पुर्‍याउँथ्यो । पैसा दिनेहरूलाई बस्न दिन्थ्यो ।’

उनले रुँदै भने, ‘आमाको उपचार गर्न ल्याएको अस्पतालको ट्वाइलेटबाट लडेर बित्नुभयो । बुबा १४ वर्षदेखि हराउनुभएको अझै केही पत्तो छैन । गाउँमा घर बनाएको थिएँ, छाना छाएको भोलिपल्टै लड्यो । गाउँ फापेन भनेर काठमाडौं आएको हुँ ।

बालेन्द्र शाहले जित्दा अब काम गर्न पाउने भएँ भनेर आस लागेको भन्दै उनले भने, ‘जाम हुने ठाउँमा पसल गरेको हो भने चित्त बुझ्थ्यो । भित्री रोडमा पनि काम गर्न नपाउने कुनामा बसेर त मकै पोल्न दिनुपर्‍यो नि ।’

उनले फेरि भने, ‘हामीसँग पैसा भएको भए रोडमा आउने नै थिएनौं । मकै पोल्न पनि नदिएपछि छोराछोरीलाई कसरी पढाउनु  रु जागिर खाऔं, दुवै जनाले पढेको छैन । १० हजारको जागिरले पुग्दैन । बालेन्द्र सरले जित्दा अब त गाडामा मकै बेच्न पाइएला भन्ने आशा पनि आजदेखि मर्‍यो ।’

घर बनाउँदा, छोराछोरी पढाउँदा, आमाबुबा पाल्दा लागेको ऋण मकै पोलेको पैसाले तिरिरहेको उनले बताए । एउटा फाइनान्सबाट डेढ लाख र अर्कोबाट २ लाख ऋण लिएको भन्दै उनले फाइनान्सको त्यो कागज पनि गाडासँगै लगेको गुनासो गरे ।

उनले भने, ‘गाडामा सय डेढ सय जम्मा गर्ने फाइनान्सको कागज पनि लग्यो । फलफूलको सिजनमा फलफूल पनि लग्ने गर्थे । यसपालि त नगर पुलिसले मागेको घूस नदिएरै मेरो गाडामा आँखा लगायो । नगरपालिकाको सइसाप हुनुहुन्छ । उहाँले ५ हजार माग्नुभएको थियो ।