नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, आखिर किन ?

काठमाडौं। वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ ।

अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशतमात्र सफल भएका छन् । तीन महिनाअघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।

नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । तर निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुनेक्रम बढेको छ । अहिले भने दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले जनाएको छ ।

इक्यानका अनुसार लामो समयसम्म भिसा स्वीकृत वा अस्वीकृत भएको विषयमा जानकारी नदिने र अन्तिममा अस्वीकृत भएको भन्ने सन्देश नयाँदिल्लीस्थित अस्ट्रेलियन हाई कमिसनले पठाउने गरेको छ । प्रक्रिया खुकुलो भएको समयमा निवेदन दिएको एक दिनमै पनि भिसा दिने गरिएको थियो ।

भिसा अस्वीकृत दर बढेसँगै शैक्षिक परामर्श व्यवसायी तथा विद्यार्थी चिन्तित बनेका छन् । इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार उच्च योग्यता भएका विद्यार्थीको समेत भिसा अस्वीकृत गरिएको छ ।

अस्ट्रेलियाले भित्र्याउने विदेशी विद्यार्थीमध्ये नेपालबाट ३० प्रतिशत आपूर्ति गर्दै आएको छ । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी जाने वैदेशिक मुलुकमा नेपाल तेस्रो नम्बरमा पर्छ । पहिलो र दोस्रो नम्बरमा क्रमशः भारत र चीन पर्छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार गत साउनदेखि यही असारको पहिलो सातासम्म ६१ हजार ६३६ विद्यार्थीले अस्ट्रेलिया जानका लागि नो अब्जेक्सन लेटर लिएका छन् । मन्त्रालयको शैक्षिक परामर्श शाखाले यस अवधिमा एक लाख दुई हजार ८७३ जनाले यस्तो अनुमतिपत्र लिएको जानकारी दिएको छ ।

सोही अवधिमा १६ हजार ३२८ जनाले जापान, पाँच हजार २०१ जनाले क्यानडा, चार हजार ८५२ जनाले अमेरिका र एक हजार १९२ जनाले कोरियाका विभिन्न विश्वविद्यालयमा गएर पढ्न नो अब्जेक्सन लेटर लिएका छन् । पछिलो ११ महिनामा विद्यार्थीबाट नो अब्जेक्सन लेटरका लागि मात्र २० करोड ५७ लाख ४६ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

गोरखापत्र दैनिकबाट