माओवादी विघटनको तयारीमा प्रचण्ड !

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी विघटन गर्न खप्पिस छन् । उनले पार्टी विघटन गरेर एकपछि अर्को छलाङ पनि मारेका छन् ।

प्रारम्भमा प्रचण्ड मसालमा थिए । उनले मसालमा विद्रोह गरेर युवावस्थामै महासचिव बने । मसाल विघटन गरेर एकता केन्द्र बनाए । एकता केन्द्र पनि विघटन गरेर नेकपा माओवादी गठन गरे । एक दशक लामो सशस्त्र जनयुद्ध गरे ।

प्रचण्डले शान्ति प्रक्रियामा आउँदा माओवादीबाट चुनाव लडी प्रधानमन्त्री भए । माओवादी पनि विघटन गरेर माओवादी केन्द्र बनाए । केन्द्र समेत विघटन गरी नेकपा गठन गरे । तर, नेकपा फुट्दा नेकपा माओवादी केन्द्र ब्युँतियो ।

अहिले प्रचण्ड माओवादी पनि विघटनको तयारीमा छन् । उनी समाजवादी केन्द्र गठनमा लागेका छन् । समाजवादी केन्द्र गठनबारे डा। बाबुराम भट्टराईसँग प्रचण्डको घनीभूत छलफल चलिरहेको छ ।

विगतमा जनयुद्धमा रहँदा प्रचण्डका लागि बाबुराम मुख्य योजनाकार नै थिए । तर, बाबुरामले कम्युनिस्ट परित्याग गरिसकेका छन् । उनी प्रचण्डसँग एकताका लागि तयार देखिएपनि कम्युनिस्ट बन्न तयार छैनन् ।

प्रचण्डले पनि समाजवादतर्फ आफूलाई अगाडि बढाउने तयारी गरेको बुझिएको छ । उनले बाबुरामसँग हातेमालो गर्दा माओवादी विघटन गरी समाजवादी केन्द्र बनाउने विश्वस्त स्रोतले बताएको छ ।

प्रचण्डले कम्युनिस्ट छाड्ने र बाबुरामले प्रचण्ड रोज्ने परिस्थिति फेरि विकास भएको छ । यसले राजनीतिलाई रोचक मोडमा पुर्याउने देखिएको छ ।