ईन्जिनियर बालेन्द्रले मेयर भएपछि ठेलागाडा र मकै नचिनेका हुन् ?

आफू स्ट्र्रक्चरल ईन्जिनियर भएको र मासिक साढे तीन लाख भन्दा धेरै तलव थियो भन्दै चुनाव जितेका काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि यतिखेर चर्को आलोचना शुरु भएको छ ।
मेयरको कमाण्डमा रहने नगरप्रहरीले बालुवाटारमा ठेलामा हरियो मकै पोलेर बेच्ने एक दम्पत्तिमाथि लछारपछार गर्दै गाडा मकै सबै उठाएर लगेको त्यो भिडियो र तस्वीरहरु सामाजिक सञ्जाल र सञ्चार माध्यममा व्यापक मात्रामा प्रसार भईरहेको छ ।
ठेलागाडामा हरिया स्थानीय उत्पादनका साग सब्जी, हरियो मकै , फलफुल बेचेर खानेहरुको संख्या काठमाण्डौमा उल्लेख्य छ ।

ती हजारौँ बेरोजगारी र आर्थिक विपन्नताका कारण सडकमा व्यवशाय गर्न बाध्य नागरिकहरुमाथिको त्यो अत्याचारपूर्ण दृष्यले सबैमा आक्रोश जन्माउनु स्वभाविक हो ।
काँग्रेस, एमाले , माओवादीले केही गरेनन्, गर्न सक्दैनन् भन्दै स्वतन्त्रहरुको उदय यस पटक विभिन्न महानगर नगरमा भयो । धेरै अपेक्षा गरिएका युवा मेयरको पछिल्लो शासन शैलीको बिरोध शुरु भएको छ । उनकै निर्देशनमा काठमाण्डौमा भिख माग्न नपाईने जस्ता सूचनाहरुको पनि विरोध छ ।
के काठमाण्डौँ शहरमा गरीबहरु बस्न नपाउने हुन् ? यो संभ्रान्तहरुको मात्र शहर हो ? बालेन्द्रमाथि सामाजिक सञ्जालमा प्रश्नहरु व्याप्त छन् ।

सिन्धुपालचोकका चेतेन्द्र आचार्य र सीता आचार्यले बिहानदेखि साँझ सम्म हरियो मकै बेच्ने, पोलेर बेच्ने गरेर पारिवारीक जीवन निर्वाह गर्दै आएका थिए । नगरप्रहरी प्रमुख धनपति सापकोटाले घुस नियमित नदिएका कारण पनि ठेलागाडालाई दुखः दिने गरेको पीडितहरुको गुनासो छ । यस विषयमा मेयर बालेन्द्र सार्वजनिक रुपमा अझै प्रतिकृया दिईसकेका छैनन् ।

गरीबहरुको जीवनलाई थप बर्बाद पार्ने, उठिवास पार्ने यो कार्य निन्दनीय भन्दै चौतर्फी आवाज उठेको छ । एक त हरिायो मकै स्वस्थ्यकर स्थानीय उत्पादन हो । यसलाई प्रवद्र्धन गर्नु पर्ने थियो, व्यवस्थित गर्नु पर्ने थियो । रक्सीलाई अन्तराष्ट्रिय ब्रान्डिगं गर्छु भन्ने मेयरले मकै नचिन्नु लज्जाकै विषय बन्यो । यस क्षेत्रलाई पहिला व्यवस्थापन गरेर ठेलागाडा, साईकल पसल आदिलाई स्थान्तरण गरौँ । गरीबको जीवन र प्राणमाथि खेलवाड नगरौँ ।