‘गरिबको चमेली बोल्दिने कोही छैन…’

१७ असार, काठमाडौं । चुनावी अभियानका क्रममा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र (बालेन) साहले ‘बलिदान’ शीर्षकमा र्‍याप सबैभन्दा बज्यो, जसमा चर्चित गीत ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन…’ कोरसका रुपमा प्रयोग गरिएको थियो ।

‘…यो राज्यको राजाहरुमा राजयोग नै छैन, यो रामराज्य हैन .. भन्दै राजनीतिक नेतृत्वमाथि ब्यंग्य गरेको गीतका कारण पनि बालेनले धेरैको मन जिते । नेकपा एमाले र नेपाली कांग्रेस जस्ता ठूला दलका उम्मेदवारलाई पराजित गर्दै बालेन मेयर पनि चुनिए ।

तर बालेन मेयर भएको महानगरको नगर प्रहरीले शुक्रबार महाराजगञ्ज क्षेत्रमा ठेलामा मकै बेच्दै गरेकी महिलामाथि गरेको ज्यादतीले बोलनमाथि नै प्रश्न उठाएको छ ।

समाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सडक किनारमा मकै बेचिरहेकी महिलामाथि नगर प्रहरी जाइलागेको देखिन्छ । ‘फुटपाथ र सडक अतिक्रमण गरेर व्यापार गर्न नपाइने’ महानगरको नियमको पालना गराउन भन्दै नगर प्रहरीले बेचिरहेको हरियो मकैसहित ठेला उठाएर गाडीमा हाल्न खोज्छ । उनी प्रहरीको अघि हात जोडि्छन्, विन्ती गर्छन्, नलगिदिन हार गुहार गर्छन् । तर, लछारपछार गर्दै नगर प्रहरीले ठेला गाडीमा हाल्यो, मकै सडकमा असरुल्ल बने ।

काठमाडौंको नगर प्रहरी निमुखा नागरिकमाथि जाइलागेको यो पहिलो पटक होइन । महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा स्वयंम यस्ता घटना दिनहुँ हुने बताउँछन् । ‘यस्तो घटना त दैनिक हुन्छन् । हामीले पटक-पटक ठेलागाडा नराख्न भनेका छौं । फुटपाथ र सडकमा नराख्नू भनेको ठाउँमा ठेला राखेपछि जफत हुने कुरा सामान्य हो,’ सापकोटाले भने ।

यसरी निमुखामाथि जाइलाग्नु भनेर मेयर स्वयम्ले निर्देशनमा भएको पनि होइन होला । तर यस्तो गल्ती नगर्ने बाचा गरेर आएका बालेन मेयर भएको महानगरको नगर प्रहरीको व्यवहार नसुध्रिएका कारण उनीमाथि धेरैले प्रश्न उठाएका छन् ।