सुवास नेम्वाङ भन्छन् : यस पटक अर्जेन्टिनाले विश्वकप जित्छ

आयोजक राष्ट्र कतार र खाडी मुलुकका दर्शकका लागि भने विशेष दर्जाको टिकट उपलब्ध हुनेछ । २८ दिनसम्म चल्ने उक्त प्रतियोगितामा ३० लाख टिकट बिक्री हुने अपेक्षा गरिएको छ । विश्वकप खेल्ने ३२ टिमको टुंगोसमेत लागिसकेको छ ।

यसैबीच कतार विश्वकपलाई लिएर विभिन्न अड्कलबाजी हुन थालेका छन् । यसैबीच शुक्रबार एक कार्यक्रममा एमाले संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले यस पटक अर्जेन्टिनाले विश्वकप उपाधि जित्ने बताएका छन् । कुनै जमानामा आफै फुटबल खेलाडीसमेत रहेका नेम्वाङले कतारमा हुने विश्वकपको उपाधि लियोनल मेसीको टिम अर्जेन्टिनाले जित्ने बताएका हुन् ।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकप उपाधि जितेको छ । क्लब फुटबलमा निकै सफल भएका मेसीले अर्जेन्टिनालाई भने विश्वकपमा उपाधि दिलाउन सकेका छैनन् । सन् १९३०, १९९० र २०१४ मा भने अर्जेन्टिना फाइनल पुगेको थियो । सन् २०१४ मा मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना फाइनलमा जर्मनीसँग १-० ले स्तब्ध भएको थियो ।

शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवस कार्यक्रममा फुटबल प्रतियोगिताको पुरस्कार आफ्नो रुचिअनुसार आफैलाई बाँड्न दिएको हो कि भन्दै नेम्वाङले ठट्टासमेत गरेका थिए । इलाम बहुमुखी क्याम्पसलगायतका विभिन्न टिममा रहेर उनले कप्तानी भूमिकासमेत निर्वाह गरेका थिए ।

अर्जेन्टिना र मेसी पहिलो रोजाइमा परे पनि क्रिस्टियानो रोनाल्डोसमेत उनलाई मन पर्ने खेलाडी हुन् । अहिले पनि उनले विभिन्न विदेशी लिगहरू हेर्ने गर्छन् । उनले भने, ‘अहिले पनि राति १२/१ बजेतिर उठेर फुटबल हेर्छु । इंग्लिस प्रिमियर लिग, लालिगा…। आजकल मलाई साह्रै मन पर्ने खेलाडी पीएसजी पुगेको हुनाले बार्सिलोना हेर्न छाडेको छु । अर्जेन्टिना र पीएसजीको फुटबल हेर्छु । कतिबेला आउँछ यहाँहरूलाई थाहै छ ।’

त्यस्तै ४ महिनापछि हुने कतार विश्वकपमा अर्जेन्टिनाले बाजी मार्ने उल्लेख गर्दै उनी भन्छन्, ‘यो तालि अर्जेन्टिना, मेस्सीले विश्व फुटबल जित्छन् भन्ने लाग्छ । त्यसैले कतारमा ४ महिनापछि हुने विश्वकप फुटबल तपाईं हामी आ-आफ्नो घरमा बसेर होस् वा सकिएछ भने कतार पुगेर हेरौँला ।’