ट्राफिक जामका कारण धान दिवस मनाउन नपाएको राष्ट्रपतिको गुनासो

राष्ट्रपति विद्यादेवी भण्डारीले ट्राफिकका कारण आज आफूले धान दिवस मनाउन नसकेको गुनासो गरेकी छन् । राष्ट्रपति कार्यालयमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कृषि कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् । राष्ट्रपति भण्डारीले भनिन् : ‘आज कतै गएर धान दिवसको उपलक्ष्यमा धान रोपाइँ गर्ने मन थियो तर ट्राफिक जाम हुन्छ भनेर निस्किन पाइएन ।’

कार्यक्रममा सहभागी हुन गएका एक कृषिकर्मीका अनुसार राष्ट्रपति भण्डारीले भनिन्, ‘यहाँ (राष्ट्रपति भवनमा) खेतीपाती छैन नत्र यही धान रोपाई गर्थे, पछि भक्तपुरको चुनीखेल जाउँ कि क्या हो भन्ने पनि लागेको थियो तर ट्राफिक जामको कारण गइएन ।’

अरु बेला पनि ट्राफिक जाम हुनेगरेको तर त्यसको चर्चा नहुने तर आफू बाहिर निस्किँदा जाम भयो भने त्यसको निकै टिकाटिप्पणी हुने गरेका गुनासो समेत राष्ट्रपति भण्डारीले गरेकी थिइन् । उनले आफू पनि विगतमा चार–चार घण्टा ट्राफिक जाममा फसेको स्मरण गरेकी थिइन् । उनले आफ्नो मात्र गुनासो बढी हुने गरेका कारण कतै जान मन लागेपनि जान नसकेको बताइन् । ‘यदि म बाहिर ननिस्केर ट्राफिक जाम हुँदैन र जनताले राहत महसुस गर्छन् भने म त्यो गर्न तयार छु, जनताको त्यति सेवा गर्न तयार छु’ उनले भनिन्, ‘तर सडकमा देखिएको दिन दिनैको ट्राफिक जामलाई नियन्त्रण गर्न कसले रोकेको हो ?’

सडकमा कति गाडी कुद्ने र गाडी परिवहन सेवा कस्तो हुनुपर्ने भन्ने व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाई थियो । राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा मात्र १३–१४ लाख मोटरसाइकल कुद्ने गरेको र त्यसले पनि ट्राफिक जाम गर्ने गरेको बताइन् ।

कार्यक्रममा सहभागी एक कृषि विज्ञका अनुसार राष्ट्रपति भण्डारीले कृषिमा देखिएको व्यथिति प्रति पनि आक्रोश पोखिन् । उनले भनिन्, –‘नेपालमा चार खर्बका कृषिजन्य वस्तु मात्र आयात हुने गरेको छ, यो डरलाग्दो अवस्था हो यसलाई कम गर्नुपर्छ ।’ नेपालमा आयात हुने कृषि सामाग्री यहीँ उत्पादन गर्न सकिन्छ तर आयात किन गर्नुपरेको ? भन्दै उनले प्रश्न समेत गरिन् । छेउमै रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवतिर हेर्दै राष्ट्रपति भण्डारीले भनिन् : ‘आयात कम गर्न नीति परिवर्तन गर्नुपर्छ वा दुई देशबीचको सन्धी रिभ्यु गर्नुपर्छ भने गर्नुस् तर आयात कम गर्नुस् व्यपार घाटा कम गर्नुस् ।’

देशमा कृषिको अवस्थाबारे अध्ययन गरेपछि मात्रै सबै कुरा छर्लङ्ग हुने बताउँदै उनले कृषिमा नीजि क्षेत्रले गरेको कामबाट सरकारले केही सिक्नुपर्ने सुझाव दिइन् । उनले भनिन्, ‘कृषिमा नीजि क्षेत्रले राम्रो काम गर्न सक्छ तर सरकारले किन सक्दैन समस्या कहाँ छ ? समस्या पहिचान गरी कृषिलाई सुधार गर्नुस् ।’ कृषिको यस्तो अवस्था सहन गर्न लायक नरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘देशमा चुलिएको व्यपार घाटाबाट देशलाई मुक्ति दिनुपर्छ ।’