ओलीले पनि ग्रीन सिग्नल दिएपछि नेकपा ब्यूँताउन होमवर्कमा जुटे ठूल्ठूला नेता, झस्कियो कांग्रेस !

कम्युनिष्ट घटकबीच गठबन्धन र एकता गराउने प्रयास शुरु भएको छ। स्थानीय तहको निर्वाचन परिणामपछि माओवादी केन्द्र, नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा एमालेबीच एकता प्रयास शुरु भएको हो। त्यसमध्ये माओवादी र एकीकृत समाजवादीबीच एकता गर्नुपर्ने निष्कर्षमा नेताहरु पुगेको स्रोतले जनाएको छ।

संघीय निर्वाचनमा कम्तीमा दोस्रो शक्ति बन्नेगरी त्यसअघि एकता गर्न छलफल चलेको हो। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच यही विषयमा पटक(पटक छलफल भइसकेको छ।

हालै भएका केही भेटवार्तामा एकता नगर्ने हो भने कम्युनिष्टहरू सकिने र देशमा कांग्रेसले हालीमुहाली गर्ने कुरामा सचेत रहनुपर्ने उनीहरुबीच छलफल भएको छ।

यद्यपि अहिले एकताको प्रक्रिया कसरी सुरु गर्ने भन्ने निचोडमा पुग्न नसकेको वार्तामा सहभागी नेताको भनाइ उधृत गर्दै स्रोतले जनाएको छ।

पूर्वमाओवादी धाराहरुबीच एकता गर्न तल्लो तहबाट आएको दबाबमा रहेका अध्यक्ष प्रचण्डले समानान्तर रुपमा छलफल गरिरहेका छन्। उनको पहिलो प्रयास आफ्नै पार्टीबाट विभाजन भएका शक्तिहरूलाई मिलाउन छ।

तर, संघीय निर्वाचन नजिकिएसँगै उम्मेदवार चयनमा लाग्नुपर्ने भएकाले त्यसअघि एकताबारे एउटा निर्णयमा पुग्नुपर्ने गरी अन्य कम्युनिष्ट घटकसँग संवाद भइरहेको छ।

छलफलमा सहभागी नेताहरुका अनुसार तीनवटा प्रयास सँगसँगै भइरहेको छ।

२३ फागुन २०७७ मा सर्वोच्च अदालतले एकता भंग गरेकाले एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएका मात्र होइन, १ साउन २०७८ मा एमाले विभाजन पनि भएको थियो। अब एमाले, माओवादी केन्द्र र एमालेबाट विभाजित एकीकृत समाजवादीलाई एकै ठाउँमा ल्याउने र पुरानो नेकपा ब्यूँताउने।

पहिलो विकल्पमा एमाले अध्यक्ष केपी ओलीदेखि दोस्रो तहका नेतासम्म छलफल भइरहेको छ। नारायणकाजी श्रेष्ठदेखि वर्षमान पुनसँग एमालेका नेताहरुले भेट गरिरहेका छन्।

श्रेष्ठले त एमाले अध्यक्ष ओलीसँग भेट गरिसके। स्थानीय तहको निर्वाचन परिणाम पछि त्यो छलफल झन् बढेको नेताहरु स्वीकार्छन्। तर, एमालेसँग तत्काल एकता वा मोर्चाबन्दी गर्न माओवादी केन्द्र तयार छैन।

एमाले अध्यक्ष केपी ओलीले संसद विघटन र नेकपा विभाजनमा अदालतले खेलेको भूमिकाले माओवादी बिच्किएको छ।

स्थानीय तहमा आएको परिणाम सोचेजस्तो नभए पनि गठबन्धनबाट खासै नोक्सान नभएको माओवादीको विश्लेषण छ।

अब प्रदेश र संघीय निर्वाचनमा २०७४ को भन्दा केही सिट बढ्ने माओवादीको विश्लेषण रहेकाले अहिले एमालेसँग एकता वा मोर्चाबन्दीमा प्रचण्ड इच्छुक छैनन्।

तर, स्थानीय तहमा ८९ पालिका गुमाएको एमालेले संघ र प्रदेशको चुनावको परिणाम आँकलन गरिसकेको छ, त्यही भएर माओवादी केन्द्रसँगको मोर्चाबन्दीका लागि उसले ‘ग्रिन सिग्नल’ दिएको छ। त्यही अनुसार नेताहरु परिचालित छन्।

दोस्रो विकल्प – माओवादी र एकीकृत समाजवादी मिल्ने
दोस्रो प्रयासका रुपमा माओवादी र एकीकृत समाजवादीबीच एकता गर्ने प्रयासमा पनि छलफल भइरहेको नेताहरु बताउँछन् ।

‘अब पनि हामी छुट्टा छुट्टै लड्ने हो भने निर्णायक शक्ति बन्न सक्दैनौं,’ नेताहरुको छलफलबारे जानकार एक नेतालेभने, ‘कांग्रेस पहिलो पार्टी भयो भने उसलाई चेक एण्ड ब्यालेन्स गर्ने शक्ति चाहिन्छ।’

त्यसो त कांग्रेसले संघीय निर्वाचनमा एक्लै झण्डै बहुमत संख्या जित्ने योजना बनाइरहेको छ। यदि बहुमत नआए उसले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई साथ लिएर बहुमत पुर्‍याउने योजना बनाएको भन्दै एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता गर्ने प्रयास भएको हो।

उनीहरुले कांग्रेसलाई बहुमत ल्याउनबाट रोक्न पनि एकतामै जोड दिएका छन्।

स्रोतका अनुसार यसमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सकारात्मक छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्णय दिएका छैनन्। उनी छलफल र परामर्श गर्नुपर्ने निचोडमा भने पुगेका छन्।

‘एकता नै गरेर जानुपर्छ र आगामी संघीय निर्वाचनमा बलियो शक्ति बन्नुपर्छ,’ छलफलको निचोडबारे स्रोतले भन्यो, ‘दुई पार्टी मिल्दा कांग्रेसले बहुमत ल्याउन सक्तैन, त्यसबेला निर्णायक दल बन्न सक्छ।’

खास गरी माओवादी नेताले माधव नेपालसँग एकताका लागि जोड गरे पनि माधव नेपाल निकट नेताहरु चाहिँ तत्काल माओवादीसँग पार्टी एकता नै भइहाल्ने कुरा औपचारिकरुपमा स्वीकार्न मान्दैनन्।