भट्टराई न घरको न घाटको : जसपाले नै गर्ने भयो कारबाही !

काठमाडौं असार १४ – लामो समयदेखि विवाद देखिएको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने पक्का भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई कारबाही गर्ने निर्णय गरेको छ ।

सोमबार राति बसेको कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको हो । जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ ।

उनलाई पार्टीबाट नै निष्कासन गर्ने या निलम्बन गर्ने भन्ने बारे केहि खुलाइएको छैन । बाबुराम भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए । यो सबै कुराको चाल पाएको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाबी गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको हो ।

यससँगै जसपा फेरि विभाजन हुने पक्का भएको छ । बाबुराम पक्षले यादव समझदारीमा नआएको खण्डमा नयाँ पार्टी दर्ता गरेर भएपनि अगाडी बढ्ने तयारी गरेका छन् ।