जसपाले पनि गर्‍यो सबै मन्त्री फिर्ता बोलाउने निर्णय

काठमाडौँ — एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् ।

हिजो (सोमबार) राति बसेको उपेन्द्र पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । कार्यकारिणी सदस्यहरूले नयाँ मन्त्री पठाउने सबै अधिकार समेत अध्यक्ष यादवलाई दिने निर्णय गरेको छ ।

कार्यकारिणीको बैठकमा बाबुराम भट्टराई पक्षमा लागेका कुनै पनि नेतालाई नबोलाइएको जसपा स्रोतले जानकारी दिएको छ । कार्यकारिमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले नेताहरु डा बाबुराम भट्टराई र महेन्द्र यादवसहित केही नेताहरूलाई कारवाही गर्ने अधिकार पनि यादवलाई दिएको छ ।

कार्यकारिणीको बैठककै दिन यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका थिए । उनले नेकपा एसले मन्त्रीहरू फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई शपथ ग्रहण गराएपछि अब आफ्नो पार्टीमा पनि मन्त्रीहरू फेरबदल गर्नुपर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डलले पार्टीबाट औपचारिक निर्णय गरेर आउन भनेका थिए । प्रचण्डकै सल्लाहअनुसार उनले हिजो साँझ कार्यकारिणी समितिको बैठक बोलाएर मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गराएका थिए । जसपाबाट नेताहरु राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्र यादव र रायशायप्रसाद यादव मन्त्री छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईसहितका नेतालाई कारबाही गर्ने भएको छ । सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको एक नेताले बताए ।

लामो समयदेखि जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ । भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार गतिविधि गरिरहेको पाइन्छ ।

यसका लागि उनले पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए । यो सबै कुराको चाल पाएको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाब गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको हो ।