मन्त्री पद जोगाउन गुहार

काठमाडौं – विनियोजन विधेयकको मन्त्रालयगत छलफल भएर त्यसमाथि सांसदहरूको प्रश्नको जवाफ नदिई मन्त्री फेर्ने कुरा असंसदीय र गैर जिम्मेवार हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पुनर्विचार गर्न सुझाव दिएका छन् ।

नेकपा एसले चार जना मन्त्री हटाएर नयाँको नाम सिफारिस गरेपछि हटाइएका मन्त्रीले पार्टी र प्रधानमन्त्री समक्ष असन्तुष्टि जनाएका थिए ।

किसान श्रेष्ठ,रामकुमारी झाँक्री र विरोध खतिवडाले अपरिपक्व र असंसदीय निर्णयबाट पछि हट्न नेतृत्वलाई दबाब समेत दिएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले माधव नेपालसहितका नेताहरूसँग यसबारे अहिले हतार नगर्न भन्दै बजेटमाथिको छलफल टुंगिन दिन आग्रह गरेका छन् । मन्त्रालयगत बजेट तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ ।

तर बजेट तथा कार्यक्रम विनियोजन गर्ने मन्त्री नै हटाइएपछि नयाँ आउने मन्त्री नैतिक रूपमा कसरी जिम्मेवार बन्ने भन्ने प्रश्न समेत उठाइएको छ । विवाद र असन्तुष्टिकै कारण नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम समेत तय भएको छैन ।

यसैबीच पार्टीले अपमानजनक ढंगले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको भन्दै नेकपा एसका मन्त्रीहरूले माओवादी अध्यक्ष प्रचण्डलाई समेत भेटेर असन्तुष्टि जनाएका छन् ।

प्रचण्डले यसबारेमा आफूले माधव नेपालसँग कुरा गर्ने आश्वासन दिएर पठाएको खुमलटार स्रोतले जनाएको छ ।

यसैबीच स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफूहरूलाई बजारले मन्त्रीबाट हटाएको भन्दै बजारका कुरा बजारमै सकिएको र आफू काममा व्यस्त रहेको बताए ।नेपाल प्रेसबाट