बालेनले मेयर बनेर देखाएपछि हौसिए गगन थापा, देउवापछि प्रधानमन्त्री बन्ने टार्गेट !

केही हप्तादेखि सामाजिक सञ्जालमा चर्चा हुँदैछ – अबको प्रधानमन्त्री गगन थापा । यो चर्चाका स्रोत स्वयम् गगन थापा हुन् । महामन्त्री थापाको प्रधानमन्त्रीमा यसैपटक ‘एटेम्ट’ गर्ने हो भन्ने भनाईबाट यो चर्चाको सुरुवात भएको हो ।

तपाईँ प्रधानमन्त्रीका लागि योग्य हुनुुहुन्छ रु भन्ने कान्तिपुर टीभीमा प्रसारित एक कार्यक्रमको प्रश्नमा थापाले ‘छु र एसपाली एटेम्ट गर्ने हो’ भनेपछि यो बहस चर्चामा आएको हो ।

“सोच्नेमात्र होइन एटेम्ट गर्ने हो सकिन्छ सकिँदैन थाहा छैन, त्यसैले ‘एटेम्ट’ मात्र भनेको छु,” महामन्त्री थापाले भनेका थिए, “नेपालको जति पनि प्रधानमन्त्री हुनुहुन्छ, उहाँहरुको सम्मान गर्दै उहाँहरु अब फेरि जुनसुकै पार्टीको होस् । उहाँहरु फेरि प्रधानमन्त्री बनेर थप गुन लगाइदिनुपर्ने कारण छैन ।”

उनले पुराना नेताहरुको नेपालको राजनीतिमा आ–आफ्नो योगदान र सम्माान कमाएको भन्दै अब उहाँहरुले ओगटिरहनु नहुने बताए ।

“उहाँहरुको धेरै ठूलो योगदान छ । संविधान ल्याइदिनुभयो, व्यवस्था परिवर्तन गरिदिनुभयो, तपाईंहरुले बनाइदिएको जमिनमा हामीहरु आयौँ, नयाँ साथीहरु आइरहनुभएको छ,” थापाले भने, “अब हामीलाई मौका दिनुस् । हामीहरु नयाँ पुस्ताकै साथीहरु प्रतिस्पर्धा गर्छौँ, हार्‍यौँ भने अर्को पुस्तालाई छोड्छौँ ।”

गगनको यो भनाईले पनि राजनीतिमा नयाँ तरंग आएको हो ।

राजनीतिमा कहिले पुस्तान्तरण हुन्छ, परिवर्तन कहिले देखिने भोगिनेगरी हुन्छ भन्ने जिज्ञासामा थापाले आगामी प्रधानमन्त्रीका रुपमा आफूलाई नै ‘एक्स्पोज’ गरेपछि सुरु भएको चर्चाले कांग्रेसकै पदाधिकारीहरु पनि बहसमा तानिएका छन् ।

अहिले कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन जनाउँदै भोलिका दिनमा प्रस्तावक नै बन्नसक्ने उदघोष गरेपछि के आगामी निर्वाचनमा कांग्रेसले गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दैछ भन्ने प्रश्न उठेको छ ।

विश्वप्रकाश शर्माले महामन्त्री थापालाई प्रधानमन्त्रीका रुपमा अघि सार्दा आफूले हार्दिकतापूर्वक समर्थन गर्ने बताएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा महामन्त्री शर्माले यस्तो बताएपछि यो बहसले अझ उचाइ पाएको हो ।

शर्माले भनेका छन्, “गगनजी प्रधानमन्त्रीको उमेदवार बन्दैगर्दा म हार्दिकतापूर्वक उहाँलाई छोड्छु ।”

उनले दुई महामन्त्रीलाई बाहिरबाट प्रतिस्पर्धीका रुपमा हेरिए पनि आफूहरुबीच गहिरो सम्बन्ध र सहकार्य पनि रहेको उल्लेख गरेका छन् । उनले आगामी निर्वाचनका क्रममा महामन्त्री थापा र आफू एउटै पदका आकांक्षी नहुने र पुस्तान्तरणको पक्षमा उभिने पनि संकेत दिएका छन् ।

“आगामी निर्वाचनमा जाँदै गर्दा हामी दुईटै महामन्त्रीले जे जे कर्महरु गर्दैछौँ । कतिपय बेलामा फरक फरक भएको देखिएला, तर यति चाहिँ म पार्टी पंक्तिलाई, बौद्धिक क्षेत्रलाई, शुभेच्छुकलाई सबैलाई ढुक्क पारेर राख्न चाहन्छु,” महामन्त्री शर्माले भनेका छन्, “हामी प्रायः धेरै कुराहरु, प्रायः सबै कुराहरु बडा योजनाबद्ध हिसावले सोचेर, विचार गरेर कुन कुरा कहाँ, कुन बेला बोल्ने भनेर पनि परामर्श गर्ने गर्छौँ ।”

उनले आगामी चुनावमा प्रधानमन्त्रीका रुपमा आफू गगन थापाको प्रतिस्पर्धी नबन्ने स्पष्ट पार्दै बरु समर्थन गर्ने बताएका छन् ।

“भोलि म प्रस्तावक भएँ भने त्यसमा आपत्ति मान्नुपर्ने कुरा के छ त रु,” प्रतिप्रश्न गर्दै महामन्त्री शर्माले भनेका छन्, “गगन थापा प्रधानमन्त्री बन्न अयोग्य छन् भनेर कसैले सडकमा छलफल ग¥यो भने बहस गरौंला न रु”

उनले कांग्रेसका दुवै महामन्त्री प्रधानमन्त्री दाबी गर्न र देश चलाउन सक्षम भए पनि तुलनात्मक रुपमा गगनकै दाबी स्वाभाविक हुने तर्क अघि सारेका छन् ।

“दुईवटै महामन्त्री प्रधानमन्त्री दाबी गर्दैगर्दा चलाउन सकिन्छ भन्ने मान्यता हामी राख्दछौँ,” महामन्त्री शर्माले थपे, “तर, सांसद भएर अनुभव हासिल गरिसकेको, मन्त्री भएर दक्षता प्रमाणित गरिसकेको, राम्रो मतसहित पार्टीको महामन्त्री निर्वाचित भएर संगठनमा काम गर्दै गरेको, गगन थापाले प्रधानमन्त्री हुन्छु भनेर आए भने मैले जनतालाई भन्ने कुरा के हो भने तपाईँलाई भरोसा गर्न सबैभन्दा पाको नेतृत्व चाहिन्छ भने कांग्रेससँगै छ, युवा पदाधिकारी र प्रधानमन्त्रीका रुपमा युवा चाहिन्छ भने पनि कांग्रेसँगै छन् ।”

शर्मा निकट नेताहरुले पनि प्रधानमन्त्रीका रुपमा गगन थापालाई अघि बढाउन शर्मा सकारात्मक रहेको बताउँछन् ।

“सधैँ शेरबहादुर वा त्यही उमेरका व्यक्तिलाई भनेर कति हिँड्ने, पार्टीका लागि भन्दा जनताका लागि पनि प्रिय हुने कुरा किन नगर्ने रु,” निकटस्थ एक नेताले शर्माको भनाई उद्धृत गर्दै भने, “जनतामा लोकप्रिय व्यक्ति लिएर जाँदा कांग्रेसलाई फाइदा हुन्छ र देशले पनि परिवर्तनको महसुस गर्छ भने त्यसरी किन अघि नबढ्ने भनेर छलफल सुरु गर्नुभएको छ ।”

ती नेताका अनुसार कांग्रेसका केही नेताहरु भने विश्वप्रकाशको छलफलमा सकारात्मक देखिएका छैनन् ।

राजनीतिक विश्लेषकहरु वर्तमान नेतृत्वको यथास्थितिवादी शैलीले नागरिकमा आशा जगाउन नसकेको भन्दै कांग्रेसका दुई महामन्त्री जसले प्रधानमन्त्री दाबी गरे पनि त्यो स्वाभाविक हुने बताउँछन् ।

उनीहरु कांग्रेसमा सभापति देउवा ‘ट्याक्टिकल्ली’ बलियो भए पनि जनस्तरको विश्वासको आधारमा कांग्रेसले विकल्प सोच्ने बेला आएको बताउँछन् । प्राध्यापक लोकराज बराल अहिलेकै दाबी र समर्थनले कांग्रेसले उमेदवार बनाउने सुनिश्चितता नभएको भन्दै भोलिका दिनमा कांग्रेसभित्रको बहसले उमेदवार तय गर्ने बताउँछन् ।

“अहिलेका देउवा वा अन्य जनताले देखिसकेका भोगिसकेका छन्,” प्राडा बरालले बाह्रखरीसँग भने, “युवा पिँढीका दुई–चार जना जनताले कांग्रेसका प्रतिनिधिले आशा गरेका नेताहरु छन् । उनीहरुको दाबी अस्वाभाविक होइन ।”

उनका अनुसार अहिले नै म हुन्छु भन्ने भन्दा कांग्रेसभित्र बहस गरे त्यो वातावरण बनाउनु उपयुक्त हुन्छ ।

“युवाहरुले दाबी गर्नु कुनै अस्वाभाविक होइन तर, अहिले नै आफैँ हुन्छु भन्नुभन्दा पार्टीभित्र नेताको कार्यशैली र जनताको आकांक्षाका विषयमा बहस गर्नु उपयुक्त हुन्छ,” प्राडा बरालले भने, “यथास्थितिमा परिवर्तन होस् भन्ने जनताको चाहना छ । यसमा युवा नेताहरु उचित विकल्प बन्न सक्छन् । त्यसलाई कांग्रेसले सुव्यवस्थित छलफल गर्नु उपयुक्त र देश तथा कांग्रेसका लागि हितकर हुन्छ ।”

उनले नयाँ पुस्ताका नेताहरुले कसरी देश हाँक्छन् भन्ने अहिले नै भन्न नसकिए पनि मान्छेको आशा युवाहरुमा नै रहेको बताए ।

अर्का विश्लेषक डा। विष्णु दाहाल कांग्रेसको १४औं महाधिवेशनले युवाहरुको बलियो उपस्थिति गराए पनि निर्णय प्रक्रियामा भने युवाका मुद्दाले ठाउँ नपाइरहेको बताउँछन् ।

त्यसैले गगन थापालाई नै प्रधानमन्त्रीका रुपमा कांग्रेसले अघि सार्नेमा उनलाई शंका छ ।

“कांग्रेसभित्र दुइटा सिनारियो देखियो । युवा पुस्ता पार्टीमा प्रवेश त गर्‍यो तर, निर्णय प्रक्रियामा प्रभाव देखिएन । युवा पुस्तालाई सहभागी मात्र गराएर निर्णय अघिल्लै पुस्ताले गरको देखिँदैछ,” डा। दाहालले भने, “त्यसैले गगनलाई कांग्रेसले प्रधानमन्त्री बनाइहाल्ला भन्ने देखिँदैन ।”

समाज बदलिँदै गए पनि समाजको गतिअनुसार नेतृत्व परिवर्तन हुन नसकेको उनको बुझाई छ । उनलाई त कांग्रेसमा ०५६ सालको चुनावी रणनीति व्युँतिन्छ भन्ने लागेको छ ।

“मलाई त डा। शेखर कोइरालाई प्रधानमन्त्री प्रस्तावित गरेर चुनावमा जान खोजेको हो कि जस्तो लागिरहेको छ जसरी गिरिजाप्रसादले किशुनजीलाई अघि सारेर प्रधानमन्त्री जितेका थिए,” डा। दाहाललेभने, “कांग्रेसमा युवा पुस्तामै ज्यादा कलह देखिन्छ । बरु शेखर भनियो भने युवा र बुढा दुवै पुस्तालाई लिएर जान सहज हुन्छ कि जस्तो देखिँदैछ । यो बुझाईमा शेरबहादुर देउवा पनि छन् जस्तो मलाई लागेको छ ।”

उनले रामचन्द्र पौडेललाई राष्ट्रपति र शेखर कोइरालालाई प्रधानमन्त्री बनाउँदा कांग्रेसका धेरै समस्या समाधान पनि हुने बताए । उनले देउवाले यस्तो गर्न सके सफल सभापति हुने बताउँछन् ।