काठमाडौंमा बढ्दा धरानमा किन घट्यो बजेट ? के भन्छन् मेयर हर्क साम्पाङ ?

काठमाडौं । शुक्रबार देशभरका पालिकाको आगामी आर्थिक बर्षको बजेट विनियोजन भयो । बिशेष चासोका साथ हेरिएका पालिकाको
बजेट बढेर आयो । स्वतन्त्र उम्मेदवारले जितेपछि काठमाडौं महानगरपालिकाको बजेट ह्वात्तै बढेर आयो तर स्वतन्त्रबाटै चुनाव जितेको धरान उपमहानगरमा भने बजेट घटेर आयो ।

धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको अनुमानित बजेट पेश गरेको छ । चालू आर्थिक वर्षका लागि उपमहानगरपालिकाले २ अर्ब ३ करोड ६४ लाखको आय व्यय अनुमान गरेको थियो । यथार्थ खर्च भने १ अर्ब ८ करोड ८९ लाख ३३ हजार भएको छ र आय भने १ अर्ब ५६ करोड ७७ लाख ९५ हजार भएको जनाइएको छ ।

आगामी आर्थिक वर्षका लागि धरानमा बजेट घटाएर चालू तर्फ ३ करोड ३७ लाख ७३ हजार ४ सय ४२ (४९.४६ प्रतिशत), पुँजीगततर्फ रु. ८१ करोड ९५ लाख ५० हजार ५ सय ५ (४८.६१ प्रतिशत) र वित्तीय व्यवस्था तर्फ रु.३ करोड २५ लाख (१.९३ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट २५ करोड, अन्य संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख, संघीय सरकारबाट अनुदान ८३ करोड ४ लाख, प्रदेश सरकारबाट अनुदान ३ करोड ५० लाख ७० हजार, संघीय राजस्व बाँडफाँडबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दात परिवर्तनबाट व्यवस्थापन हुने अनुमान गरिएको छ ।

धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाद्वारा प्रस्तुत बजेटमा धरान उपमहानगरको आर्थिक समृद्धि र नगरवासीको समुन्नति एवम् सुखको लागि दिगो र उच्च प्रतिफल दिने आयोजनाहरुको पहिचान गरी नागरिक एवम् सरोकारवालाहरुको सहभागिता सुनिश्चित गर्दै प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ । आधुनिक शिक्षा, स्वास्थ्य र पूर्वाधार सुविधा सम्पन्न बहुसांस्कृतिक सहरको पहिचान कायम गर्ने बजेटको मूल्य उद्देश्य रहेको बेघाले बताए ।

विनियोजित बजेटमा स्वास्थ्यतर्फ ४ करोड २ लाख, सामाजिक विकासतर्फ ५ करोड २ लाख २३ हजार, आर्थिक विकासतर्फ २ करोड ७२ लाख, वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ १ करोड ६ लाख, पर्यटनतर्फ ३० लाख, सूचना तथा सञ्चारतर्फ २५ लाख, साहित्य कला र संस्कृतितर्फ ४५ लाख र अव्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनका लागि २५ लाख बजेट विनियोजन गरिएको छ ।

बजेटमा सार्वजनिक जग्गा र जलाधार संरक्षणका लागि २० लाख, राजस्व सुधार तथा संस्थागत क्षमता विकासतर्फ २५ लाख, आवधिक योजना तथा नगर प्रोफाइल र घर, व्यवसाय र बहालको सूचना जिआइएस अपडेट तर्फ ४० लाख, प्रमुख कोष, उपप्रमुख कोष, आकस्मिक कोष तथा मर्मत कोषतर्फ ४३ करोड ९० लाख विनियोजन गरिएको छ ।

यस्तै शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ३९ करोड १० लाख, शिक्षा युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख बजेट विनियोजन गरेको उपप्रमुख बेघाले बताए । धरान महानगरपालिकाको मेयरमा भने स्वतन्त्रबाट निर्वाचित हर्क साम्पाङ रहेका छन् । यसैबीच, हर्क साम्पाङ आएपछि धरानको बजेट घट्यो भन्नेलाई मेयर साम्पाङले कडा जवाफ फर्काएका छन् । उनले जवाफ फर्काउदै भनेका छन्, हर्क साम्पाङ आए पछि धरानको बजेट घटेको होइन पोहोर साल तिर जस्तो घाटा बजेट नबनाएर यथार्थ बजेट बनाएको हो,पोहोर ५० करोड घाटा बजेट बनाएर गल्ति भएको रैछ आइन्दा त्यस्तो हुनेछैन ।