अब नेतृत्व गर्न पाए देशलाई नयाँ युगमा लैजाने सपना छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री बन्दा सपना हो कि जस्तो लागेको बताएका छन् ।  शुक्रबार एक कार्यक्रममा उनले गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुँदा झिलिमिलीमा नै कार्यकाल बितेको सुनाए । “पहिलोपटक प्रधानमन्त्री हुँदा त झिलिमिली–झिलिमिलीमा गयो । के हो यो सपना हो कि विपना हो भन्ने विचार गर्दागर्दै नौ महिनाको कार्यकाल बितिहाल्यो । नयाँ परिस्थिति बन्यो,” उनले भने ।

दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै कुरा सुधार गरेको बताए । त्यतिबेला, मधेसलाई पनि विश्वासमा लिएर निर्वाचनमा जाने कुरा सानो नभएको बताए । उनले छिमेकीसँगको सन्तुलित बनाएर सहयोग जुटाउने कुरा ठूलै भएको बताए ।

उनले अर्कोपटक नेतृत्व गर्ने अवसर पाउने भए देशलाई नयाँ युगमा लैजाने सपना रहेकोसमेत सुनाए । “अर्कोपटक देशको नेतृत्व गर्न पाउने हो भने देशमा देखापरेका यी तमाम विसंगतिहरूमाथि प्रहार गर्दै एउटा नयाँ युगमा लैजानुपर्छ भन्ने सपना त मनभित्र छ,” उनले भने ।

उनले विरोध गर्नेहरुको हातमा डाडुपन्यु हुने विडम्बनासमेत रहेको बताए ।