रवि लामिछाने पनि प्रचण्डकै लाइनमा

काठमाडौँ – संचारकर्म त्यागेर नयाँ पार्टी खोलेका रवि लामिछाने नेकपा माओवादी केन्द्रकै राजनीतिक लाइनमा खम्बाझै उभिएका छन् । सञ्चारकर्मीको रुपमा प्रचण्डको कडा आलोचना गर्दै आएका रवि राजनीतिमा आएपछि प्रचण्डकै राजनीतिक लाइन पकडेका हुन् ।

राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेर पूर्णकालिन राजनीतिमा होमिएका लामिछानेले मंगलबार निकै जोशिलो भाषण गरे । उनको भाषणमा २०५२ सालमा प्रचण्डले उद्घोष गरेका केही कार्यक्रमहरु पनि समेटिएका छन् ।

प्रचण्डले जनयुद्ध सुरु हुनु अगाडि संघिय लोकतान्त्रीक गणतन्त्र, संघियता, राज्यमा सबैको समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, जातिय विभेदको अन्त्य, पूर्णसमानुपालिक संसद, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति लगायतका एजेण्डा उठाएका थिए ।

प्रचण्डले उठाएका एजेण्डा, गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, सामानुपालिक प्रतिनिधित्व, जातिय विभेद लगभग अन्त्य भइसकेको छ । अब प्रचण्डसँग दुईवटा मुद्धा बाँकी छन्, ति हुन् पूर्णसमानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपति । यही दुईवटा एजेण्डासहित रवि लामिछाने राजनीतिमा आएका छन् ।

यहाँनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र रवि लामिछानेको कुरा मिलेको छ । राजनीतिक रुपमा यी एजेण्डा प्रचण्डका हुन् । नेकपा एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्दै आएको छ भने कांग्रेस अहिलेकै अबस्था ठिक भएको बताउँदै आएको छ ।