रवि लामिछानेको नयाँ पार्टीबारे प्रधानमन्त्री देउवाका ज्योतिषको भविष्यवाणी चर्चामा

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले खोलेको नयाँ पार्टीबारे विभिन्न तह र तप्काबाट फरक–फरक खालका टिकाटिप्पणी र विश्लेषण भइरहेका छन् । यसैबीच, प्रधानमन्त्री शेर बहादुर देउवालाई ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषले रविको पार्टीबारे गरेको टिप्पणी चर्चामा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषि सुरेशचन्द्र रिजालले तीन ठूला शक्तिशाली ग्रह शनि, शुक्र र बृहस्पति एक्लाएक्लै बलियो अवस्थामा रहेको समय पारेर रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेको बताएका छन् । रविको पार्टीले देशमा राज गर्न सक्ने सम्भावना समेत रहेको उनको तर्क छ । ज्योतिषको यो टिप्पणीलाई रवि लामिछाने समर्थकले व्यापक समर्थन र सेयर गरेर भाइरल बनाइरहेका छन् ।

माओवादीपछि २७ वर्षमा पुनः विभिन्न मुद्दा बोकेको पार्टी घोषणा भएको बताउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् । ज्यातिषि रिजालले देशले अझै राजनेता खोजिरहेकाले लामिछानेले नयाँ दल खोलेका बताएका छन् ।

‘तीन ठूला शक्तिशाली ग्रहहरू शनि, शुक्र र बृहस्पति एक्लाएक्लै बलियो अवस्थामा रहेको समय पारेर नयाँ पार्टीको घोषणा भएको छ । ०५२ सालबाट माओवादीले पनि परिवर्तनका लागि भनेर विभिन्न मुद्दा उठाएर जनयुद्धको घोषणा भएको थियो । २७ वर्षपछि पुनः देशमा नयाँ पार्टीको घोषणा भएको छ ।

अतः देशले अझै राजनेताको खोजि गरिरहेको छ,’ उनले फेसबुकमा लेखेका छन् । पूर्वसञ्चारकर्मी लामिछानेले मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल खोलेका छन् ।