काठमाडौं हैजाको उच्च जोखिममा, जारका पानीबाटै खतरा !

नास्टले बजारमा बिक्रीका लागि राखेका जारका पानीको नमुना संकलन गरी परीक्षण गर्दा कोलिफर्मको संख्या सामान्यभन्दा अधिक देखिएको (स्वास्थ्यमा हानि गर्न सक्ने संख्या) प्रमाणित गरेको थियो । हाल नेपाली समाजमा सजिलोका लागि वा बाध्यताको कारणले जारका पानीको प्रयोग व्यापक गर्ने गरिन्छ । तसर्थ, जारका पानीको उत्पादन गर्ने कम्पनी आधिकारिक, दर्ता भए/नभएको निश्चित गरेर उपभोग गर्दा सुरक्षित भइन्छ । असुरक्षित वा बिनाब्रान्डका जारका पानीबाट विगतमा हैजासमेत फैलिएको अनुभव छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–७, ८ र ९ मा असोज १८ देखि पखाला र बान्ताको कारणले ८ सय ८५ जना बिरामी भए । चार जना बिरामीको निधन पनि भयो । तीमध्ये तीन जना त १० वर्ष मुनिका थिए । नमुना परीक्षणबाट चार जनामा हैजाको जीवाणु पुष्टि भएको थियो । त्योसँगै ईकोलाई जीवाणु पनि देखिएको थियो । यो घटनाले फेरि कोरोनाकालभन्दा अगाडि बर्सेनि देखिँदै आइरहेको नन–कोभिड संक्रामक रोगहरूले एकपछि अर्को कमब्याक गरेको संकेत दिइरहेको छ ।

हाल काठमाडौंमा हैजा फैलिरहेको/फैलँदो अवस्थामा रहेको संकेत दुई जना बिरामीमा पुष्टि भएसँगै सहजै अनुमान गर्न सकिन्छ । केही दिन यता झाडापखालाका बिरामी निरन्तर देखिने क्रम जारी छ । अधिकांश बिरामीमा कारक संक्रमण पत्ता लाग्ने गरेको देखिँदैन । झाडापखाला गराउने संक्रमणहरू मध्य हैजाले छोटो समयमा नै जटिलता ल्याउन सक्ने सम्भावना बढी रहन्छ । १० संक्रमित मध्ये एक जनामा हैजाले जटिल अवस्था निम्त्याउँछ । समयमा उपचार गरिएन भने मृत्युदर ५० प्रतिशतसम्म पुग्न सक्दछ । तसर्थ हैजाको छिटो पहिचान र सही उपचार नै जटिलताबाट बच्ने मुख्य उपाय हो । लक्षणहरूको आधारमा हैजाको शंका गर्न सकिनेछ भने निश्चित निदानका लागि दिसाको कल्चर गर्नुपर्दछ ।

हैजा विशेषतः ब्याक्टेरिया (हैजाको) मिश्रित पानी वा खानेकुराको उपभोग गर्दा संक्रमण हुने गर्दछ । यो छोटो समयमा तीव्र गतिमा फैलने गर्दछ । कृष्णनगर नगरपालिकामा पनि झाडापखाला छोटो समयमा सयौं संक्रमित भएको देखिन्छ । समयमा पहिचान गरी उपचार गर्न नसके २० देखि २५ प्रतिशतसम्म संक्रमितको मृत्यु हुन सक्छ । तर, समयमा उपचार पाए यसको मृत्युदर एक प्रतिशतभन्दा कम गर्न सकिन्छ । कृष्णनगरका वडाहरूमा फैलिएको हैजाको मृत्युदर पनि एक प्रतिशतभन्दा कम देखिएको थियो ।

तत्काल अस्पताल पु¥याउन सकेकोले वा उपचार पाएकोले ठूलो मानवीय क्षति हुन पाएको देखिँदैन । मृत्यु हुनेहरूमा घरमा बसेका, निजी क्लिनिक वा अस्पताल ल्याउँदै गर्दाहरू (ढिलो भएको देखिन्छ) छन् । हैजाका झाडापखाला यति घातक हुन्छ कि केही घण्टाभित्र संक्रमितले उपचार नपाए मृत्युसमेत हुने गर्दछ । तसर्थ, हैजाको संक्रमण पुष्टि भए तुरुन्त सम्बन्धित निकायमा खबर गरिहाल्नु पर्ने बाध्यकारी नियम पनि छ । हैजाको सेरो समूह ‘ओ–१’ र ‘ओ–१३९’ घातक र महामारीको रूप लिनसक्ने भएकोले विश्व स्वास्थ संगठनमा ‘कलेरा’ को नामले रिपोर्ट गर्ने गरिन्छ । यसको ‘एलटोर’ र ‘क्लासिकल’ गरी दुई बायोटाइप हुन्छन् । बायोटाइप पनि ओगावा, इनाबा र हिकोजिमा गरी तीन सेरोटाइपमा वर्गीकरण गरिएका छन् । कृष्णनगर नगरपालिका वडाहरूमा देखिएको हैजा ‘ओ–१’ सेरो समूहको ओगावा सेरोटाइप भनिएको छ । संक्रमण गरेको १२ घण्टादेखि ५ दिनसम्ममा लक्षणहरू देखिने गर्दछ । चामल माढेर निकालेको पानीजस्तो दिसा देखिनु, बान्ता हुनु, पेट वा खुट्टाको मांशपेशीका बाउँडिनु, तिर्खा लाग्नु, छटपटाहट हुनु यसका मुख्य लक्षणहरू हुन् ।

मुटुको चाल तीव्र हुनु, रक्तचाप घट्नु, छाला सुक्खा हुनु, छाला तन्काउँदा पूर्ववत् अवस्थामा ढिलो फर्कनु आदि जस्ता समस्या वा अवस्थाहरू देखिने गर्दछ । समयमा उपचार नपाए मिर्गौला फेल हुने र अचेत अवस्थामा गएको केही घण्टामा बिरामीको मृत्युसमेत हुन सक्छ । ५ देखि १० प्रतिशत संक्रमितहरूमा कडा हैजा देखिने गर्दछ । हैजाका लक्षणहरू पनि अरू संक्रमणका कारणले हुने झाडापखाला जस्तै देखिने भएकोले प्रयोगशाला परीक्षणबाट मात्र निश्चित निदान गर्न सकिन्छ ।

केही वर्षको फरकमा काठमाडौंमा पनि हैजा देखिने गरेको पाइन्छ । कोरोनाको दोस्रो लहर शिथिल हुँदै जाँदा काठमाडौंमा मानिसहरू घरबाहिर निस्कने वा रमाउने क्रम बढ्दो छ । घरबाहिर खानपान गर्ने जीवनशैली पनि बढ्दै गइरहेको छ । विशेष गरेर सडकका छेउछाउमा बेचिने खाने कुराहरूको सरसफाइमा सबैले राम्रो ध्यान नदिएको हुन सक्छ । विगतमा पनि विशेषगरी यस्तै ठाउँहरूमा राखिएका खानेकुराहरूबाट हैजा फैलिएको पनि पाइएको थियो । केही वर्षअघि जारका (कम्पनीको नाम थाहा नभएका) पानी प्रयोग गर्नेहरूमा हैजा फैलिएको पाइएको थियो । म आफैँले यस विषयमा अवलोकन गर्दा सुरुमा धेरैले विश्वास गरेका थिएनन् । तर, पछि विभिन्न प्रयोगशालाहरूमा परीक्षण गर्दा हैजाका जीवाणुहरू पुष्टि भएका थिए ।

हाल मानिसहरू काठमाडौं र अन्य सहरबीच आवतजावत हुने क्रम बढ्दै गइरहेको छ । यसले गर्दा एक सहर÷गाउँमा देखिएको संक्रमण अर्को सहर/गाउँमा सहजै पुग्ने सम्भावना बढाउँछ । संक्रमितको दिसामा १० दिनसम्म हैजाका किटाणुहरू निस्किरहेको हुन्छ । जसले गर्दा संक्रमित जहाँ जान्छ त्यहाँ हैजा फैलने जोखिम भइरहन्छ । काठमाडौं नेपालको संघीय राजधानी र सबैभन्दा बढी जनघनत्व भएको तर अव्यवस्थित सहर हुनु, मानिसको व्यापक आवतजावत हुने, अव्यवस्थित ढल तथा व्यापक रूपमा असुरक्षित व्यावसायिक पानीको प्रयोग आदिले हैजाको जोखिम काठमाडौंमा छैन भन्ने आधार देखिँदैन ।

म आफैँले युवा अवस्थामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा दिँदा मनसुन सिजनको समयमा घण्टामा नै ४०/५० सम्म हैजाका कारणले भर्ना हुने बिरामी देखेको छु र त्यो अनुभव मसँग छ । त्यो बेला अस्पतालको सीमित शय्याका कारण भुँइमा राखेर उपचार गरिन्थ्यो । त्यसैले पनि होला शुक्रराज अस्पताललाई विशेषतः ‘झाडापखालाको अस्पताल’ भनेर पनि चिन्ने गरिन्थ्यो । तर, अहिले परिस्थिति बदलिसकेको छ । केही वर्ष यता अस्पतालले झाडापखालाभन्दा पनि नयाँ–नयाँ इमरजिङ सरुवा रोगहरूसँग जुध्दै आइरहेको छ । कोरोना र डेंगु महामारीमा यस अस्पतालले खेलेको भूमिका यसको ज्वलन्त उदाहरणहरू हुन् । तर, आजको दिनमा पनि हैजा पहिचान गर्नमा नै धेरै समय लाग्नुले हाम्रो प्रतिकार्य अझै सशक्त हुन जरुरी रहेछ भन्ने देखाउँछ ।

हैजा तीव्र गतिमा फैलने प्राणघातक सरुवा रोग भएता पनि सामान्य सावधानीहरू मात्र अपनाउनसके यसबाट बच्न र द्रुत नियन्त्रणमा ल्याउन सकिन्छ । साबुनपानीले हात राम्ररी धुने (खासगरी शौचालय गएपछि), सफा र सुरक्षित खाना र पानीको उपभोग गर्नेजस्ता सरल उपायहरू अपनाउनसके हैजाबाट बच्च पर्याप्त हुनेछ । यी पाँच लक्षणहरू देखिए हैजाको शंका गर्न सकिनेछ । अचानक पीडारहित चामल पखालेको चौलानी पानीजस्तो अत्यधिक÷तारन्तार दिसा हुनु । बान्ता तारन्तार हुनु । पेट वा/तथा खुट्टाका मांशपेशीका बाउँडिने । तिर्खा लाग्ने । बेचैनी हुनु । हैजा भिब्रियो कलेरा नामक ब्याक्टेरियाको कारणले हुने गर्दछ ।

हाल समुदायस्तरमा झाडापखाला देखिएको र धेरैले आफैँ औषधि लिने गरेको देखिन्छ र स्वास्थलाभ गर्न नसके मात्र अस्पताल भर्ना हुने गरेका देखिन्छन् । तर, हैजामा उपचार ढिला भए जटिल अवस्था देखिन सक्ने भएकोले यी माथि उल्लिखित लक्षणहरू देखिए तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ । अबको आवश्यकता भनेको के कुरामा ध्यान दिँदा हैजाको संक्रमणबाट बच्न सकिन्छ र फैलनबाट रोक्ने भन्ने हो । यसका लागि यी निम्न तीन कुरामा ध्यान दिन अति जरुरी हुनेछ ।

१) खानेकुरा : हाल कोभिड–१९ को महामारी शिथिल भएसँगै हामी सक्रिय दैनिकीमा फर्किसकेका छौँ र घरबाहिर खानपिन गर्ने बानी/चलन पनि बढ्दै गइरहेको छ । खानेकुरामार्फत हैजा फैलने गरेको विगतको हाम्रो अनुभव छ । तसर्थ ताजा र सुरक्षित खानेकुरामा विशेष ध्यान दिनुपर्दछ । हैजा घरबाहिरको खानपानबाट मात्र नभई आफ्नै घरको चुलोमा बनेको असुरक्षित खानेकुराबाट पनि सर्न सक्ने भएकोले खानेकुरा राम्रोसँग पकाएको ताजा खानुपर्दछ ।

२) खानेपानी : हैजा फैलनमा खानेपानीको भूमिका महत्वपूर्ण हुने गर्दछ । अझ पानीको स्रोतमा नै हैजाको जीवाणु मिसिएको भए एकैपटक धेरैजना बिरामी हुन सक्छन् । काठमाडौंमा हैजाको स्रोत सर्वसाधारण वा मानिसहरू बढी जाने वा काम गर्ने ठाउँहरू हुनसक्छ । जस्तै चमेना गृह÷रेस्टुरेन्ट वा कार्यालयजस्ता ठाउँमा हैजाको जीवाणु मिसिएको पानीको प्रयोग गरिएको भए धेरै मानिसहरू एकैपटक हैजाको झाडापखालाबाट प्रभावित हुनसक्नेछ । तसर्थ सार्वजनिक प्रयोजनका लागि राखिएका जारका पानी सुरक्षित भएको सुनिश्चित गर्नु/हुनु अति जरुरी हुन्छ/हुनेछ ।

३) व्यक्तिगत सरसफाइ : खानेकुरा वा पानी वा दुवै संक्रमणविहिन भए पनि लक्षणविहिन संक्रमितले शौचालयबाट फर्कदा राम्रोसँग हात सफा नगरेको अवस्थामा खानेकुरा वा पानी संक्रमित हुनसक्नेछ र त्यसो भए सोको उपभोग गर्नेलाई संक्रमण हुनसक्दछ । तसर्थ हैजा फैलिएको स्थानमा जोकोहीले शौच गरिसकेपछि राम्रोसँग साबुन पानीले हात धुन अति आवश्यक हुनेछ । माथि उल्लिखित यी तीन कुरालाई ध्यान दिन सके हैजाको संक्रमणबाट बचिने र यसको फैलावटलाई ब्रेक लगाउन पनि सहयोगी हुनेछ ।

धेरैले गर्मी महिनामा देखिने मौसमी संक्रामक रोगहरूको बारेमा भने खासै ध्यान दिएको भने पाइँदैन । यी संक्रामक रोगहरूमध्ये ‘फुड पोइजनिङ’ एक प्रमुख स्वास्थ्य समस्या हो र यो बर्सेनि देखिँदै आइरहेको पनि छ । यो वर्षको गर्मी महिनाले प्रवेश गर्दै गर्दा ‘फुड पोइजनिङ’ को समस्या पनि देखिन सुरू भएको अस्पतालको इमर्जेन्सी कक्षमा दैनिक उपचारका लागि आउने बिरामीहरूबाट पनि थाहा हुन्छ । सम्भवतः ‘फुड पोइजनिङ’ को समस्या लिएर बिरामीहरू सहरका अरू विभिन्न अस्पतालहरूमा पनि पुगिरहेका होलान् भनेर सहजै अनुमान गर्न सकिन्छ ।

अमेरिकी संस्था सिडिसीको अनुमानित तथ्यांकअनुसार अमेरिकामा बर्सेनि झन्डै ४ करोड ८० लाख ‘फुड पोइजनिङ’ बाट बिरामी हुने र १ लाख २८ हजार अस्पताल भर्ना हुने गरेका छन् । तीन हजार जनाको मृत्यु जटिल अवस्थाबाट हुने गर्दछ । नेपालमा यसको आधिकारिक वा यकिन तथ्यांक भने छैन । खाना वा पानीमा जीवाणुको संक्रमण वा त्यसले उत्पन्न गर्ने विषाक्त (टकसिन) ले गर्दा बिरामी पर्नुलाई सामान्यतयः ‘फुड पोइजनिङ’ भएको भनेर बुझिन्छ ।

भाइरस, ब्याक्टेरिया, प्रोटोजोवा आदि जस्ता संक्रमणलाई ‘फुड पोइजनिङ’ को मुख्य कारक मानिन्छन् । यी संक्रमणले शरीरमा प्रवेश गरेको केही मिनेटदेखि घण्टाको फरकमा लक्षणहरू देखाउने गर्छन् । अमेरिकी संस्था सिडिसीका अनुसार अमेरिकामा हुने ‘फुड पोइजनिङ’ का प्रमुख कारक संक्रमणहरूमा नोरोभाइरस (भाइरस), साल्मोनेला (ब्याक्टेरिया), क्लसट्रिडियम परफ्रिन्जेस (ब्याक्टेरिया), क्यम्पालोब्याक्टर (ब्याक्टेरिया), स्टाफिलाकोकास औरियस (ब्याक्टेरिया) पर्दछन् । नेपालमा भने कुन संक्रमणको कारणले ‘फुड पोइजनिङ’ हुने गर्दछ भनेर व्यापक अनुसन्धान भएको भने देखिँदैन । हाल अस्पतालमा ‘फुड पोइजनिङ’ को कारणले संक्रमित भएका अधिकांशमा संक्रमण अज्ञात नै देखिन्छ । यद्यपि उनीहरूको नमुना परीक्षणको लागि पठाउने गरिन्छ र उनीहरूको समस्या खानेकुरासँग नै सम्बन्धित भएको देखिन्छ ।

तसर्थ, हाल काठमाडौंमा कुन संक्रमणको कारणले अधिकांशलाई ‘फुड पोइजनिङ’ गरिरहेको छ भन्ने यकिन थाहा छैन । सबै संक्रमितहरूमा लक्षणहरू देखिने गर्दैन भने अधिकांशले स्थानीय औषधि पसलमा गएर स्वयं औषधि सेवन गर्ने गर्दछ । तर, औषधि प्रयोगका बाबजुद स्वास्थ्यमा सुधार नभएपछि मात्र अस्पताल आउने गर्दछन् । अर्थात् हाल अस्पतालमा देखिएको संख्याभन्दा धेरै मानिसहरू खानेकुराबाट संक्रमित भइरहेको अनुमान गर्न सकिन्छ । वाक–वाक÷बान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने÷ बाउडिने, ज्वरो आउनेजस्ता समस्याहरू ‘फुड पोइजनिङ’ मा देखिने गर्दछ । धेरैलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था हुँदैन । प्रशस्त झोलिलो खानेकुरा खाएर वा जीवन जलको प्रयोग गरेर पनि स्वास्थ्य लाभ गर्न सक्छन् । तर, कतिपयमा भने जटिल अवस्था देखिने गर्दछ । विशेषतः ज्येष्ठ नागरिक, दीर्घ रोगी तथा बालबालिकामा जटिलताको जोखिम बढी हुने गर्दछ ।

उच्च ज्वरो देखिनु, रगतमय पखाला हुनु, तारन्तार बान्ता हुनु, मुख÷घाँटी सुक्नु, पिसाब कम÷वा नहुनु, पखाला तीन दिनभन्दा बढी निरन्तर हुनुजस्ता समस्याहरू जटिल अवस्थाका संकेत हुन् । यसको लागि बिरामीलाई तुरून्त अस्पताल भर्ना गरी उपचार गर्नुपर्दछ । ‘फुड पोइजनिङ’ को समस्या बाहिरी खानेकुराहरूबाट मात्र नभई घरभित्रको भान्सा घरबाट पनि हुने गर्दछ । केही दिनअघि एक वृद्धा महिलाले घरमा नै तयार गरिएको खान खाएपछि ‘फुड पोइजनिङ’ भएको देखिएको थियो । त्यस्तै, केही वर्ष अगाडि किनेको पानीको उपभोग गर्नेहरू पनि पखाला तथा बान्ता भएर अस्पताल भर्ना भएका थिए । पानीको उपयोग गर्दा मानिसहरू बिरामी भइरहेको छ भन्दा विश्वास नगर्नेहरूको संख्या निकै ठूलो थियो ।

तर पछि अनुसन्धान गर्ने संस्था नास्टले बजारमा बिक्रीका लागि राखेका जारका पानीको नमुना संकलन गरी परीक्षण गर्दा कोलिफर्मको संख्या सामान्यभन्दा अधिक देखिएको (स्वास्थ्यमा हानि गर्न सक्ने संख्या) प्रमाणित गरेको थियो । हाल नेपाली समाजमा सजिलोको लागि वा बाध्यताको कारणले जारका पानीको प्रयोग व्यापक गर्ने गरिन्छ । तसर्थ, जारका पानीको उत्पादन गर्ने कम्पनी आधिकारिक, दर्ता भए÷नभएको निश्चित गरेर उपभोग गर्दा सुरक्षित भइन्छ । असुरक्षित वा बिना ब्रान्डका जारका पानीबाट विगतमा हैजासमेत फैलिएको अनुभव छ ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.