प्रेममा परेर विवाह गरेकी आफ्नै श्रीमतीले नै बलात्कारको आराेप लगाइ प्रहरीलाइ उजुरी दिएपछि……..

पोखराको मालेपाटनको अलिकति भित्री बाटोमा टिनको जस्ता गाएको एउटा सानो घर छ । त्यो घरमा जेठ २७ गते शुक्रबार केही फरक माहोल थियो । करिब २ वर्षदेखि सराङकोटस्थित बाल सुधार गृहमा थुनिएका एक किशोर घर फर्किँदै थिए ।

भागी विवाह गरेर केही महिना भारत बसी गर्भवती भएपछि नेपाल आएकी आफ्नी प्रेमिकाले नै ब-लात्कारको बात लगाएपछि ती किशोर ब-लात्कारजस्तो संगीन अपराधमा दोषी करार भई जेलमा पुगेका थिए । र, शुक्रबार उच्च अदालत पोखराले उनको कसुरलाई बलात्कार नभइ बाल विवाह ठहर गर्दै जिल्ला अदालतको फैसलामा केही परिवर्तन गरेपछि उनी घर फर्किन पाएका थिए । ती किशोर थिए, १९ वर्षीय (हाल) परिवर्तित नाम विनोद नेपाली ।

शुक्रबार मात्रै उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जबरजस्ती क-रणी ठहर गर्ने कास्की जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै बालविवाह मात्रै भएको भन्दै एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएका थिए ।

करिब २३ महिना सुधारगृहमा बसिसकेको कारण उनको १० हजार जरिवाना पनि असुल भइसकेको कारण उनी पत्र प्राप्त हुनासाथ थुनामुक्त हुन्थेँ । जेठ २८ गते शनिवार भएको कारण नेपालीको परिवार सोही दिन नै रिहाइको पूर्जी बनाएर सुधार गृहबाट आफ्नो छोरालाई छुटाउन चाहन्थे ।

परिवारको त्यही चाहना अनुसार न्यायाधीशद्वयले समयमै संक्षिप्त आदेश दिए, उच्च अदालतका कर्मचारीले तत्कालै पत्र बनाइदिए र हतारहतार परिवारले बाल सुधारगृहमा पत्र बुझाएर छोरालाई थुनामुक्त गराए ।