पार्टी घोषणा गर्न नपाउँदै रवि लामिछानेलाई धक्का, चुनाव चिन्ह अर्कैको कब्जामा

काठमाडौं । संचारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषण गरेका छन् । चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्न जाने उनले बताएका छन् । तर, पार्टी घोषणा गर्न नपाउँदै उनले चुनाव चिन्ह ‘घण्टी’ नपाउने भएका छन् । सो चिन्ह ‘राष्ट्रवादी दल’ले लिइसकेको खुलेको छ ।

लामिछानेले घोषणा गरेको नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले प्रस्ताव गरेको चुनाव चिन्ह ‘घण्टी’ अरू नै राजनीतिक दलले लिइसकेको भेटिएको हो । लामिछानेले चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्न जाने बताए पनि सो चिन्ह ‘राष्ट्रवादी दल’ले लिइसकेको छ। मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह सार्वजनिक गरेका हुन्। उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरूको मनमा घण्टी बजाउने जिकिरसमेत गरेका छन्।

तर ‘घण्टी’ चुनाव चिन्ह २०७३ मंसीर ३० गते निर्वाचन आयोगमा दर्ता भएको दल ‘ राष्ट्रवादी’ पार्टीले लिइसकेको छ। नारायण गोपालमार्ग काठमाडौंमा कार्यालय रहेको सो दलका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी हुन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले जनताको प्रतिक्रियापछि मात्र आगामी संसदीय चुनावमा कुन क्षेत्रबाट आफू चुनाव लड्ने भन्ने निर्णय गर्ने बताएका छन् ।

आफूलाई हार्ने सुविधा नभएको बताउँदै लामिछानेले अहिले नै कुन निर्वाचन क्षेत्रबाट लड्ने तय नगरेको बताएका हुन् । मंगलबार आयोजित कार्यक्रममा लामिछानेले भने, ‘मलाई त झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ ।’ ‘म डराएको होइन । तर सरकारले कस्तो चुनाव गराउँछ भन्ने इतिहास थाहा छ । हामीलाई हार्ने सुविधा छैन ’ उनले भने ‘राजनीति पत्रकारिता जस्तो छैन । यसलाई राजनीति जसरी नै गर्नुपर्छ । जहाँबाट तपाईंहरूको प्रतिक्रिया आउँछ त्यहाँबाट चुनाव लड्छु ।’

उनले यसपटक एकजना ‘बेथितिको मेन स्वीच’लाई संसद् छिर्नबाट रोक्ने प्रतिबद्धता भने जनाए । उनले दलको नाम तीन पटक उच्चारण गरेका थिए। उनले घोषणाका क्रममा देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकोले पार्टी घोषणा गरेको बताए।

लामिछानेले स्वतन्त्र अभियानमा रहेकाहरुलाई आफ्नो पार्टीमा आवद्ध भएर उम्मेदवारी घोषणा गर्न पनि आग्रह गरे। उनले त्यसक्रममा आफैंले नेतृत्व गरेर निर्वाचन आयोगमा दर्ता गराएको उनले बताएका छन्।