योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त हुनु हो : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय मूल समारोह समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले मन र मष्तिस्कको सन्तुलन नै योग भएको बताए । उनले भने, “आम नागरिक निरोगी बन्न तथा मन र मष्तिस्कको सन्तुलन कायम गर्न योग गर्न आवश्यक छ, मानव जीवनमा योगको अत्ति नै आवश्यक रहेको छ ।”

मन्त्री आलेले सन्तुलित, शारीरिक र मानसिक रुपले संयमतापूर्वक निर्वाह गरिने मानव सम्बन्धहरुको सन्तुलन नै योगको सार भएको बताए । सजगता, संयमता र लगनशीलता जस्ता महत्वपूर्ण मूल्यहरुमार्फत सकारात्मक सोचको विकास गर्न योगले निकै मदत गर्नेसमेत उनले जानकारी गराए । मानसिक र आध्यात्मिक शान्ति र सन्तुलन मात्र नभई योगले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने उनले बताए ।

उनले थप भने, “हामीले हाम्रो मन्त्रालय र मातहतका निकायबाट योगलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम पनि ल्याएका छौँ, योग गर्नुपर्ने बानीको विकास गर्ने छौँ ।”