यही हो आज रवि लामिछानेले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम ?

काठमाडौं । सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेले बालेन साहको सिको गरेको आरोप लाग्यो । पहिला देखि नै फरक तरिकाले राजनीतिमा आउन चाहेका रविलाई आसन्न संसदीय चुनावलाई निशाना बनाएर राजनीतिमा आएको घोषणा गरे ।

दलिय व्यवस्थामा बहुमतले शासन गर्ने भएकाले स्थानिय जस्तो संसदीय चुनावमा स्वतन्त्र तरिकाले उठेर जित्नु त्यति प्रभावकारी नहुने बुझेका रविले आफ्नै पार्टीको बहुमत ल्याएर प्रधानमन्त्री बन्ने महत्वाकांक्षा बोकेर राजनीतिक उडान भर्ने भएका छन् । त्यसको औपचारिक घोषणा आज हुने भएको छ ।

राजनीतिको खुल्ला मैदानमा ओर्लिएका रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गर्ने भएका छन् । आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको छ । यसैबीच, उनको पार्टीको नामलाई लिएर विभिन्न आकलन र अड्कलबाजी भइरहेको छ । उनी निकट केही समर्थकहरुले रविको पार्टीका नाम स्वतन्त्र पार्टी नेपाल राख्न र यही रहने अनुमान गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् । तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन् ।

पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेका हुन् । संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ । रवि स्वयम् भने प्रत्यक्षमा नै लड्नेछन् ।

रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उनले यो कार्यालय खोलेका हुन् ।