यी हुन् ४ सेलेब्रेटी जाे आफैं फिल्म बनाएर छोराछोरीलाई फिल्ममा भित्र्याउने !

ग्ल्यामर दुनियाँमा छाउने सपना धेरैलाई हुन्छ। त्यही सपना पछ्याउँदै कोही निकै संघर्ष गरेर फिल्म क्षेत्रमा आउँछन्, त कोही सेलेब्रेटीका छोराछोरी भएर आउँछन् ।

अहिले नेपाली सिने जगतमा पनि कलाकारहरूले आफ्ना सन्तानलाई यो क्षेत्रमा तान्ने चलन बढ्दै गएको छ। आफ्नै लगानीमा फिल्म बनाएर छोराछोरीलाई डेब्यू गर्ने प्रचलन बढ्दो छ।

अग्रस्थानमा नाम आउँछ झरना थापाको। कुनै समयकी चर्चित अभिनेत्री झरना थापा पछिल्लो समय निर्देशकका रूपमा छन्। उनी यति बेला आफ्नो निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर ४’ को प्रचार प्रसारमा व्यस्त छिन्।

उनले आफू अभिनित फिल्म ‘ए मेरो हजुर’ को नाम लिँदै ‘ए मेरो हजुर २’ बाट निर्देशनमा पाइला चालेकी हुन्।

‘ए मेरो हजुर ३’ बाट त उनले आफ्नै छोरी सुहाना थापालाई डेब्यू गराइन्। डेब्यू फिल्मबाटै सुहाना दर्शकको मन जित्न सफल भइन्। हाल उनी आफ्नो दोस्रो फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन तयारीमा छिन्।

अर्का यस्तै कलाकार हुन् भुवन केसी। फिल्म ‘जुनी’ बाट नेपाली फिल्ममा अभिनय सुरू भुवन केसीले आफ्ना छोरा अनमोल केसीलाई सिनेमा जगतमै भित्र्याएका छन्।

भुवन केसीकै अभिनय रहेको फिल्म ‘साथी म तिम्रो’ बाट अनमोल केसी फिल्मी पर्दामा देखिए। त्यसपछि उनी ‘होस्टल’ फिल्ममा मुख्य अभिनेताका रूपमा देखिए। उक्त फिल्मबाट उनी युवा पुस्तामाझ छाउन सफल भए।

अनमोलले आफ्नै बाबुले निर्माण गरेको फिल्म ‘ड्रिम्स’ मा अभिनय गरेका थिए। बाबुछोराको सहकार्य यतिमा मात्र सीमित छैन। उनले आफ्नै होम प्रोडक्सनको फिल्म ‘क्याप्टेन’ मा समेत अभिनय गरिसकेका छन्।

अनमोलले् ‘होस्टल, जेरी, गाजलु, ड्रिम्स, कृ, क्याप्टेन, ए मेरो हजुर ३’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन्। उनको ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ।

अर्की चर्चित कलाकार हुन् करिष्मा मानन्धर। अचेल राजनीतिमा सक्रिय हुन थालेकी उनले ‘सन्तान’ फिल्मबाट आफनो फिल्मी करिअर सुरू गरेकी थिइन्। ‘मायालु, ट्रक डाइभर, एक नम्बरको पाखे’ जस्ता फिल्ममा अभिनय गरिसकेकी करिष्माले ‘बाबुसाहेब’ फिल्म निर्माण पनि गरिन्। फिल्मले राम्रो चर्चा बटुल्न नसकेपछि उनी यसमा धेरै सक्रिय भइनन्।

पहिलो फिल्म निर्माण गरेपछि १२ वर्षको अन्तरालमा उनले अर्को फिल्म ‘फागु’ बनाइन्। यो फिल्मबाट पनि उनी उनले सुखद यात्रा तय गर्न सकिनन्।

उनले आफ्नो छोरी कविता मानन्धरलाई लिएर फिल्म निर्माण गर्ने सोच बनाएकी थिइन्। तर उनले सोच बनाउँदा बनाउँदै अभिनेता शिव श्रेष्ठले ‘यस्तो एउटा प्रेम कहानी’ बाट कवितालाई डेब्यू गराए। शिव श्रेष्ठले कवितालाई मात्र होइन, यही फिल्मबाट आफ्ना छोरा शक्ति श्रेष्ठलाई पनि फिल्मी क्षेत्रमा ल्याए।

यो फिल्म गत वर्ष रिलिज भएको हो। विभिन्न कारण देखाउँदै निर्माताहरूले फिल्मको छायांकन पूरा नभई रिलिज गरेका थिए। फिल्म आधाअधुरैमा रिलिज गर्दा करिष्माले भने चित्त दुखाएकी थिइन्।

फिल्मले खासै चर्चा नपाए पनि शिवका छोरा शक्ति सम्भावना बोकेको अभिनेताको गन्तीमा आए। उनले ‘लप्पन छप्पन २’ मा अभिनय गरिसकेका छन्।

आफ्ना छोराछोरीलाई फिल्ममा ल्याउने होडबाजीमा कसले कस्तो प्रस्तृति देखाउँछन्, कसले कति चर्चा कमाउने छन्, को हिट हुन्छ र को फ्लप हुन्छन्, अझै हेर्नै बाँकी छ। चलेका अभिनेता र अभिनेत्रीका छोरा छोरी भन्दैमा फिल्म हिट हुन्छ वा उनीहरूलाई दर्शकले मनपराउँछन् भन्ने हुँदैन। उनीहरूलाई फिल्म लाइनमा आउन सजिलो भए पनि दर्शकको मनमा स्थान बनाउन चुनौती हुन्छ।