दुर्गा प्रसाईले नेपाल निमन्त्रणा गरेका ब्याक्ति यस्ता पो रहेछन्, गृह मन्त्रालयले लगायो प्रतिबन्ध

काठमाडौं।

झापामा पुगेका दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै औपचारिक कार्यक्रम गृह मन्त्रालयले रोकेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँको निमन्त्रणामा झापामा पुगेका संयुक्त अरब इमरेट्श अन्तर्गत दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको कार्यक्रम सरकारले रोकेको हो।

मेडिकल व्यवसायीसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको निमन्त्रणामा युएईका राजपरिवारका सदस्य शनिबार नेपाल आएका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै झापा गएका थिए।

त्यसपछि उनी प्रसाईंले खोलेको मेडिकल कलेजका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। युएईका राजपरिवारका सदस्यको उक्त भ्रमणबारे नेपाल सरकारलाई औपचारिक जानकारी दिइएको थिएन।

सरकारी संयन्त्रको जानकारीबिना औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै उनी सहभागी हुने भनिएका कार्यक्रमहरूमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ।

विदेशबाट उच्च तहको पाहुना आउँदा सरकारको स्वीकृति लिनुपर्ने भएकाले सुरक्षा सं’वेदनशी’लताको हिसाबले प्रतिबन्ध लगाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए। उता परराष्ट्र मन्त्रालयले पनि माक्तुमको नेपाल भ्रमणबारे औपचारिक जानकारी नभएको जनाइसकेको छ।

निजी भ्रमणमा औपचारिक र सार्वजनिक कार्यक्रम गर्न नमिल्ने भन्दै गृहको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

झापामा युएईका राजपरिवारका सदस्य सहभागी हुने कुनै पनि कार्यक्रम नेपाल सरकारको अनुमति लिएर गरेको नपाइएको पनि गृह मन्त्रालय स्रोतले बताएको छ।

युएईका राजपरिवारका सदस्यले झापाका कचनकवल र भद्रपुरमा मस्जिद, विश्वविद्यालय शिलान्यास गर्नेजस्ता कार्यक्रम तय भएका थिए। ती कार्यक्रममा गृहले रोक लगाइदिएको छ।