लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली भन्छिन्– मलाई फसाउने षड्यन्त्र भयो

लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफूलाई बद्नाम गरी फसाउने षड्यन्त्र भएको आरोप लगाएकी छन् । उनले सापटी रकम लामो समयसम्म फिर्ता नगरेपछि एकराज बस्नेतको घरमा गएको तर कसैलाई कुटपिट नगरेको दाबीसमेत गरिन् ।

गत जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनका परिवारका सदस्यमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो । यद्यपि घटना भएको एक सातासम्म प्रहरीले उनीविरुद्धको जाहेरी दर्ता गरेको छैन ।

राज्य मन्त्री विमलालाई मुख्यमन्त्रीको निर्देशनमा जेठ ३१ गते नै बुटवल पठाइएको थियो भने स्वास्थ्य अवस्था बिग्रिएको भन्दै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनी हाल दाङको घोराहीस्थित आफ्नो घरमा आराम गरिरहेकी छन् ।

एकराज बस्नेतकी श्रीमती मिनाले आफू र छोरीमाथि कुटपिट भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा राज्यमन्त्री वलीविरुद्ध जाहेरी दिएकी छन् । तर एक हप्ता बितिसक्दा पनि प्रहरीले जाहेरी दर्ता गरेको छैन ।

राज्यमन्त्री विमलाले अहिले आफू घरमै आराम गरिरहेको बताइन् । दुई दिन लुम्बिनी प्रादेशिक अस्पतालमै बसेर उपचार गराएको र डिस्चार्ज भएपछि दाङस्थित घरमा आराम गरिरहेको उनले रातोपाटीलाई बताइन् ।

विमलाले एकराज बस्नेतले आफूसँग ३५ लाख रुपैयाँ सापटी लगेको र फिर्ता नगरेपछि पैसा उठाउन गएको दाबी गरेकी छन् । ‘सापटी रकम लिनका लागि उसको घरमा गरेको बेला योजनाबद्ध रूपमा मलाई विवादमा ल्याउने काम भएको हो,’ मेडियासँग उनले भनिन् ।

उनले सरकारले बनाएको समितिलाई आफूले घटनाको विषयमा यथार्थ विवरण दिएको बताइन् । आफूले कसैमाथि कुटपिट नगरेको जिकिर गर्दै उनले बद्नाम गर्नका लागि सुनियोजित रुपमा यस्ता हल्ला फैलाइएको आरोप लगाइन् ।

विमला प्रकरणले प्रहरी, संसद् र सरकार सबैको ध्यान तानेको छ । उक्त घटनालाई लिएर प्रतिपक्ष एमालेले लुम्बिनी प्रदेशसभा समेत अवरुद्ध गर्दै सरकारको धारणा मागेको थियो ।

प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा उक्त घटनाका सम्बन्धमा छानबिन गर्न ३ सदस्यीय कार्यदल बनाएको छ । उक्त कार्यदलले छानबिनको काम आगडि बढाएको कार्यदलका संयोजकसमेत रहेका मन्त्री शर्माले रातोपाटीलाई बताए ।

‘राज्यमन्त्रीसँग घटनाबारे बुझ्ने काम भइसकेको छ,’ उनले मेडियासँग भने, ‘अन्य पक्ष पनि सम्पर्क गरेर छानबिनको काम अगाडि बढेको छ ।’ प्रदेश सरकारले छानबिन प्रक्रिया अघि बढाएपछि प्रहरीले जाहेरी दर्ता प्रक्रियालाई ‘पर्ख र हेर’को रणनीतिमा राखेको स्रोत बताउँछ ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले राज्यमन्त्री विमलाविरुद्धको जाहेरी दर्ता प्रक्रियामा रहेको बताए । उनले सरकारले गठन गरेको छानबिन टोलीको प्रतिवेदनको आधारमा आगडि बढ्ने बताए ।

‘प्रहरीले पनि आफ्नो ढंगबाट काम गरिरहेको छ तर प्रहरीभन्दा माथिल्लो निकायबाटै समिति बनाएपछि त्यसको रिपोर्टलाई आधार मानेर अघि बढ्ने सोच बनाएका छौं,’ उनले भने । जिल्ला प्रहरी कार्यालय दाङमा एकराज बस्नेतकी श्रीमती मिनाले जेठ ३१ गते राज्यमन्त्री विमलाविरुद्ध उजुरी दिएकी हुन् । एकराज भने मिडिया र प्रहरीको सम्पर्कमा आएका छैनन् ।