काँग्रेसले रवि लामिछानेलाई चुनाव जितेपछि मन्त्री बन्ने प्रस्तावसहित पार्टीमा बोलायो, काठमाडौं २ बाट सांसद उठ्न राख्यो प्रस्ताव

काठमाडौं । रवि लामिछानेले सक्रिय पत्रकारिता गरिरहँदा आँफु तत्कालै राजनीतिमा नआउने बताउँदै आएका थिए ।

तर उनले एक्कासी पत्रकारिता छाडेर सक्रिय राजनीतिमा होमिने बताएसँगै उनलाई आफ्नो पक्षमा पार्नका लागि दलहरुले हानथाप नै गरिरहेका छन् ।

रविले स्वतन्त्रबाट चुनाव लड्ने बताइरहेका बेला विभिन्न राजनीतिक दलहरुले आफ्नो पार्टीमा आउनका लागि आव्हान गर्दै चुनाव जिते मन्त्री बन्नेसम्मको अफर दिइरहेका छन् ।

सक्रिय राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभागृहबाट आफ्नो एजेण्डा र योजनाबारे औपचारिक घोषणा गर्नु अघि नै रविलाई मुलुककै शीर्ष दलमध्येको एक नेपाली कांग्रेसले काठमाडौं २ बाट सांसद उठ्नका लागि अफर गरेको छ ।

त्यस्तै यसअघि नै राप्रपाले पनि रविलाई आफ्नो दलसँग जोडीएन चुनाव लड्न सार्वजनिक रुपमा नै आग्रह गरेको थियो । अहिले क्रियाशील पार्टीमा लाग्ने, नयाँ पार्टी खोल्ने वा स्वतन्त्र निर्वाचन लड्ने तीन विकल्पमा सोचिरहेका रविले विभिन्न दलका नेता, पेशाकर्मी, सामाजिक अभियन्तालगायतसँग छलफल गरिरहेका छन् ।

रविले भावी योजना बनाइरहँदा नेपाली कांग्रेसका केही नेताहरुले रविसँग विभिन्न चरणमा छलफल जारी राख्दै काठमाडौं २ बाट सांसद उठाउने र जितेपछि मन्त्री बनाउनेसम्मको अफर गरिएको स्रोत बताउँछ ।

विश्वस्त स्रोतका अनुसार कांग्रेसले रविको सार्वजनिक व्यक्तित्व र लोकतन्त्रप्रतिको प्रतिबद्धताका आधारमा यस्तो प्रस्ताव गरेको हो । काँग्रेसले निर्वाचन लगत्तै बन्ने सरकारमा पनि रविलाई उपयुक्त भूमिका दिनेबारे पनि पार्टीले विचार गरेको ति नेताले बताए । रवि निकट स्रोतका अनुसार ‘काठमाडौंको २ नम्बर क्षेत्रमा सांसदको उम्मेदवार बनाउने र जितेपछि मन्त्री बनाउने प्रस्ताव कांग्रेसका केही नेताहरुले गरेको भएता पनि रविले अहिलेसम्म कुनै प्रतिक्रिया भने दिएका छैनन् । रविको मतदाता नामावली काठमाडौं ३ मा रहेका कारण रविले सोही क्षेत्रबाट निर्वाचन लड्न इच्छुक भएको स्रोत बताउँछ ।