प्रधानमन्त्री ज्यू, ह्विस्की ख्वाएर सम्झौतामा हस्ताक्षर गराउँलान् हैः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणमा ह्विस्की ख्वाएर सम्झौतामा हस्ताक्षर गराउन सक्ने भन्दै सचेत र सतर्क रहन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

शुक्रबाार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै अध्यक्ष नेपालले परराष्ट्र रणनीतिमा कहिलेकाहीँ दबाब नभइ फकाएर, प्रलोभनमा पारेर र ह्विस्की, मिठाइ ख्वाएर पनि अवाञ्छनीय गतिविधि गर्ने गरेकोप्रति प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्। उनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का फरक फरक धारणा आइरहँदा र पछिल्ला केही घटनाक्रमले आशंका पैदा गरेको पनि बताए।

अध्यक्ष नेपालले अहिलेको सरकार नेपालको असंलग्न परराष्ट्रनीतिमा अडिग रहन तयार छ कि छैन भन्दै प्रश्न समेत गरे। उनले सरकारका पछिल्ला केही गतिविधिले प्रश्नहरु खडा गरेको र आशंका उब्जाएको भन्दै देशको हितको बारेमा बोल्ने वा गर्ने कुरामा खुट्टा कमाउनु नहुने उल्लेख गरे।

अध्यक्ष नेपालले एसपीपीबारे उठेका सबै प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताए।