रवि लामिछानेसँगै राजनीतिमा प्रवेश गर्दै बिजय लामा, हमालसँग कुरा हुँदै

संचारकर्मी रवि लामिछानेले टेलिभिजनको पत्रकारिता छाडेर राजनीतिमा होमिने निर्णय गरे । रवि स्वतन्त्र उम्मेदवारको रुपमा राजनीतिमा अगाडि बढ्नेछन् । संसदिय निर्वाचनमा काठमाडौंको कुनै एक क्षेत्रबाट उठ्ने उनको तयारी छ ।

रवि राजनीतिमा प्रवेश गर्दै गर्दा उनीसँग नेपाली फिल्मका कलाकार तथा क्याप्टेन बिजय लामाले पनि राजनीतिक यात्रा सुरु गर्न लागेको वुझिएको छ । यो बिषयमा औपचारिक घोषणा भने हुन बाँकी छ । तर, श्रोतका अनुसार काठमाडौं वा काभ्रेमध्ये एक ठाउँबाट स्वतन्त्र उम्मेदवारको रुपमा राजनीति यात्रा सुरु गर्ने बिजय लामा पनि तयारी अवस्थामा छन् ।

रविले नेपाली फिल्मका सफल नायक राजेश हमालसँग पनि कुराकानी अगाडि बढाएका थिए । राजेश हमालले भने यो बिषयमा अहिलेसम्म कुनै पनि निर्णय गरिसकेका छैनन् ।

नेपाली फिल्म क्षेत्रका सफल नायकले राजनीतिमा कुनै पनि बेला आउन सक्ने संकेत दिइरहेका छन् । तर, स्वतन्त्र रुपमा आउने वा कुनै पार्टीको उम्मेदवार भएर आउने भन्ने बिषयमा राजेश अझै दोधारमा छन् । तर, रविले हमाललाई पनि अगाडि लिएर जान खोजेको वुझिएको छ ।

संभवत असार ७ गते रविले राष्ट्रिय सभा गृहमा केही नयाँ घोषणा गर्न सक्नेछन् ।