जसपा विवाद : उपेन्द्रलाई प्रचण्डको साथ, देउवा पनि हच्किए

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न मधेस केन्द्रित दलका नेताहरूको दौडदौड छ । त्यो दौडमा पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पनि रहेका छन् । सोमबार जसपाका केही नेतालाई साथमा लिएर भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

उनका साथमा थिए, जसपाकै सांसद् एवं कार्यकारिणी सदस्यहरु राजकिशोर यादव र इस्तियाक राई । बाबुरामको साथमा महिन्द्र राय यादव पनि बालुवाटार जाने कुरा तय थियो । तर संसदमा उनले जवाफ दिनुपर्ने भएकाले उनी बालुवाटार गएनन् । बालुवाटार स्रोतका अनुसार भेटमा भट्टराईले प्रधानमन्त्री देउवालाई आफ्नो पार्टीको विवादको विषयबारे जानकारी गराएका थिए । ‘हाम्रो पार्टीमा अहिले विवाद चलिरहेको छ, त्यो कुरा तपाईंलाई थाहै होला । पार्टीबाट केही कुरा तपाईं समक्ष आए सबैको सहमतिमा आएको छ कि छैन, त्यो हेरेर मात्र निर्णय गर्नुहोला,’ प्रधानमन्त्री देउवा समक्ष भट्टराईले राखेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो ।

मन्त्री हेरफेरको कुरा चलिरहेको बेला पार्टी अध्यक्ष उपेन्द्र यादवले एकलौटी ढंगले मन्त्री हेरफेर गरेर पठाउन सक्ने आशंका व्यक्त गर्दै भट्टराईले सो कुरा प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । उनले पार्टीमा चलिरहेको आन्तरिक विवादमा आफूलाई सहयोग गर्न पनि प्रधानमन्त्री देउवालाई आग्रह गरेको स्रोतले जनाएको छ । अध्यक्ष भट्टराईले पार्टीमा आफूहरुसँग बहुमत रहेको र सो बहुमतका ख्याल गर्न पनि प्रधानमन्त्री देउवालाई स्मरण गराएका थिए ।

भट्टराईसँगै प्रधानमन्त्री निवास पुगेका सांसद राजकिशोर यादवले पार्टीमा नेतृत्व र उसको कार्यशैलीप्रति असन्तुष्टि रहेको र यसबीचमा कुनै एकपक्षीय निर्णय आए त्यसमाथि विचार गर्न आफूहरुले प्रधानमन्त्री देउवालाई आग्रह गरेको बताए । ‘पार्टीमा आन्तरिक विवाद चलिरहेको छ । यस्तो अवस्थामा जे पनि हुनसक्छ । त्यही भएर पार्टीको निर्णयबाट केही कुरा आएको छ कि छैन, सहमतिमा आएको छ कि छैन, त्यो कुरा ख्याल गर्न हामीले आग्रह गरेका हौँ,’ उनले भने ।

‘जसपा फुटाउनका लागि सहयोग गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको खबर छ नि !,’ भन्ने प्रश्नमा उनले भने, ‘यो सरासर गलत कुरा हो । यसमा कुनै सत्यता छैन । हामी पार्टी विभाजनको पक्षमा छैनौँ । पार्टी लोकतान्त्रिक प्रक्रियाबाट मात्र चलोस् भन्ने हाम्रो चिन्ता हो ।’

नागरिकता विधेयक लगायतको विषयमा पनि प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएको उनले बताए । उनले भने, ‘नागरिकता विधेयक संसद्मा विचाराधीन छ । नागरिकताकै कारण धेरैको बिजोग भएको छ । कसैले उच्च लिन पाएका छैनन्, विदेश जान पाएका छन्, व्यापार गर्न पाएका छैनन् । यी सबै कुराको समाधान छिट्टै गर्नुपर्यो भनेर प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका छौँ ।’

आफूलाई सहयोग गर्न भट्टराईले देउवालाई आग्रह गरेको थाहा पाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई सम्पर्क गरेका थिए । प्रचण्डले जसपा अध्यक्ष यादवलाई नै सहयोग गर्न आग्रह गरेको बताइएको छ । अहिलेको अवस्थामा गठबन्धनलाई जोगाउनलाई उपेन्द्र यादवलाई नै साथ दिँदा उचित हुने कुरा प्रधानमन्त्री देउवालाई अध्यक्ष प्रचण्डले भनेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइपछि प्रधानमन्त्री देउवा भट्टराईलाई सहयोग गर्ने प्रतिबद्धताबाट पछि हटेका छन् । जसपा विवादमा यादवलाई नै प्रधानमन्त्री देउवाको साथ रहने बालुवाटार स्रोतले जनाएको छ ।