महिला र बालिकामाथि हातपात गर्ने राज्यमन्त्री विमला खत्री वलीलाई बर्खास्त गर्न एमालेले माग

महिला र बालिकामाथि हातपात गर्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई बर्खास्त गर्न एमालेले माग गरेको छ।

लुम्बिनी प्रदेश सभामा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नैतिकताको आधारमा आजकै मितिदेखि बर्खास्त गर्न आग्रह गरे।

एक जना मन्त्रीको कारण प्रदेश सरकार, प्रदेशसभा र प्रदेशबासीकै शिर निहुरिएको भन्दै वलीलाई बर्खास्त गरी सरकार र संसदको गरिमा जोगाउन मुख्यमन्त्री केसीलाई चौधरीले आग्रह गरे।

‘विमला वलीको घृणित कार्यले सरकार र प्रदेशसभाको मात्र होइन प्रदेशबासीकै शिर निहुरिएको छ, यस्तो घृणित कार्य गर्ने व्यक्ति मन्त्री पदमा बसिरहन हुँदैन,’ उनले भने।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले पनि सरकारको राज्यमन्त्री जस्तो महिलाले अर्की महिला र नाबालिकामाथि गरेको कार्य निन्दनीय र खेदजनक रहेको भन्दै उनलाई बर्खास्त गर्न सरकारसँग माग गरे।

‘प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले वलीलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्ने र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भने।

ढकालले अर्काको घरभित्र पसेर महिला र बालिकामाथि हातपात गरेकी राज्यमन्त्री वलीको कुकृत्यलाई ढाकछोप नगर्न सरकारलाई आग्रह गरे।

प्रमुख सचेतक ढकालले प्रहरी नियन्त्रणमा रहेकी वलीलाई मुख्यमन्त्री केसीले जोगाउन खोजे समग्र महिलामाथि नै अपमान हुने बताए।

‘नागरिकको सुरक्षा गर्नुपर्ने सरकार आफैंले महिला र बालिकामाथि हातपात गर्ने मन्त्रीलाई ढाकछोप गर्न खोज्नु खेदजनक छ’, उनले भने।

मंगलबार बिहानै बडीगार्डसहित दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ आलुमण्डी पुगेकी राज्यमन्त्री वलीले स्थानीय मिना भण्डारी बस्नेतको घरमा पसेर मिना र उनकी नाबालक छोरीलाई कुटपिट गरेकी थिइन्।

वलीले मिनाका श्रीमान एकराज बस्नेत आफ्नो श्रीमान भएको भन्दै एकराजलाई निकाल्न भन्दै मिना र छोरीलाई कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

विमलाले आफ्नो पति भनिएका मिनाका पति एकराज भने सम्पर्कविहीन छन्। गत वर्ष पनि विमला र एकराजबीच प्रेम सम्बन्ध रहेको विषय बाहिरिएको थियो।

२०७४ सालको निर्वाचनमा दाङको क्षेत्र नम्बर ३ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका उत्तरकुमार वलीको सडक दुर्घटनामा परी निधनपछि भएको उपनिर्वाचनमा एमालेले उनकै श्रीमती विमलालाई उम्मेदवार बनाएको थियो।

उपनिर्वाचनमा निर्वाचित वलीले नेकपा विभाजनपछि भने माओवादी केन्द्र रोजेकी थिइन्।