बाबु-आमा चाहिँदैन भन्ने जी-बब काे हुन् ? कसरी सुरू भयाे पारिवारिक लफडा ?

काठमाडौं- हामीले नेपालमा सायद कहिलै पनि सुनेका थिएनाैँ हाेला काेही सन्तानले आफूलाई जन्म दिने बुबा-आमा चाहिँदैन, सम्बन्ध अन्त्य गर्छु भनेकाे।

तर, आइतबार एक चर्चित र्‍यापरले पत्रकार सम्मेलन नै गरेर आफूले बुबा-आमासँगकाे सम्बन्ध समाप्त गर्न चाहेकाे घाेषणा गरे। यसरी पत्रकार सम्मेलन गरेर बुबा-आमासँगकाे सम्बन्ध अन्त्य गर्न चाहेकाे घाेषणा गर्ने र्‍यापर हुन्, जी-बब उर्फ सुदीप भण्डारी।

अल नेपाल ठग लाइफ(एएनटिएफ) को र्‍याप ब्याटल प्रतियोगिताबाट चर्चामा आएका जी-बबले यसरी परिवारसँग टाढिने कुरा गर्लान् भनेर कसैले पनि साेचेका थिएनन्। तर, शुक्रबार आफ्नै बाआमाविरुद्ध उजुरी दिएका उनले एक्कासी बुबा-आमासँग अलगिन चाहेकाे घाेषणा गरेर सबैलाई चकित बनाए।

आफूमाथि लागेका आरोपहरूबारे स्पष्टीकरण दिन आयोजना गरिएकाे पत्रकार सम्मेलनमा उनकाे हाउभाउ र अभिव्यक्ति हेर्दा कुनै सुपरस्टारको भन्दा कम थिएन। नभन्दै उनले ‘आफूलाई म सुपर स्टार नै हो’ भन्न भ्याए।

आफूलाई सुपरस्टार घाेषणा गर्ने बित्तिकै उनले खाेल्न थाले पारिवारिक लफडाकाे कुरा। ‘मलाई घरको गोप्य कुरा बाहिर ल्याउन मन थिएन बुबाआमाले नै बाहिर ल्याएपछि मैले अन्तर्वार्ता दिएको हुँ। मैले रियालिटी बोलेको हो। तर, आमालाई दोष लगाउँदिनँ। हाम्रो सम्बन्ध पहिल्यैदेखि समस्याग्रस्त थियो,’ उनले भने।

आमाले आफू एएनटीएफको कब्जामा रहेको भनेर गलत आरोप लगाएको उनले बताए। त्यसपछि बुबा-आमासँग अलगिएर स्वतन्त्र हुन चाहेकाे उनले घाेषणा गरे। उनकाे साेही कुरा समाचारका बन्याे। छिनकाछिन सबैतिर साेही कुरालाई लिएर टिकाटिप्पणी सुरू भयाे। कतिले उनलाई नराम्राेसँग गाली गरिरहेका छन् भने कतिले फसाइएकाे प्रतिक्रिया दिएका छन्। त्यसमध्ये उनी निकटका मानिसहरू भने याे समस्याकाे मुख्य कारण पैसा र ड्रग्स भएकाे बताएका छन्।

उनी प्रतियाेगितमा सहभागी भइरहँदा पनि धेरै पटक ड्रग्स खाएर तनाव दिन्थे। एएनटीएफ जारी रहेका बेला उनी पोखरा घुम्न जाँदा एक व्यक्तिले बोल्नै नसक्ने अवस्थामा फेला पारेपछि उनले कुन हदसम्म लागुऔषधको लतमा फसेका रहेछन् भन्ने खुलेकाे थियाे। त्यसयता उनी धेरै पटक यसरी लागूऔषध प्रयाेग गरिरहेका अवस्थमा भेटिन्थे। साेही कारण कतिपटक त एएनटीएफमै तनावकाे अवस्था सिर्जना हुन्थ्याे। त्यसपछि उनलाई पारिवारिक सल्लाहमा एएनटिएफले नै रिह्याबमा राखेका थियाे। तर, उनी त्यहाँबाट फुत्किए। उनलाई त्यहाँबाट निकाल्न एएनटिएफकै हात रहेका भन्दै उनकाे परिवार असन्तुष्ट बन्याे। एएनटिएफले उनलाई प्रयाेग गरेर पैसा कमाउनकाे लागि ड्रग्समा फसाएकाे आराेप लगाएकाे छ।

त्यस्तै एएनटिएफपछि उनी पुगेकाे अष्ट्रेलिया र भारतकाे कार्यक्रममा कम पैसा दिएर उनलाई प्रयाेग गरिएकाे आमाले आराेप लगाएकी छन्। आर्थिक प्रलाेभनमा जीबबलाई कब्जामा लिएर राखेको, घर आउन नदिएको र सुधार्नुको साटो ड्रग्स दिएर थप कुलतमा फसाएको गम्भीर आरोपहरू परिवारले लगाएकाे छ।

जीबबको परिवारबाट गम्भीर आरोपहरू सार्वजनिक भएपछि जीबबले एक टेलिभिजनकाे कार्यक्रममा आएर जवाफ दिएका थिए। साेही क्रममा उनले आफूलाईले टर्चर दिएकाे बताउका थिए, जुन कुरा उनले आइतबारकाे पत्रकार सम्मेलनमा दाेहाेराउँदै परिवारसँग छुट्टिन चाहेकाे बताए। उनले भने,‘आई क्यान लिभ अलोन। म अब फेमिलीसँग बस्दिनँ। डेन्जर प्लान बनाइराको छु। म मेरो नयाँ फेमिली बनाउँछु।’

यसरी एएनटिएफ प्रतियाेगिता हुँदै मिडया र सामाजिक सञ्जालमा खैलाबैला भएकाे याे घटना प्रहरीकाेमा पुगेकाे छ। प्रहरीले यसअघि नै जी-बब र परिवारलाई सँगै राखेर कुरा साेधपुच्छ गरेकाे थियाे। अब पुन: आज पनि प्रहरीले छलफलमा बोलाएकाे छ।

काे हुन् जी-बब ?

जी-बबको खास नाम सुदीप भण्डारी हो। उनी २१ वर्षका पुगेका छन्। ललितपुरस्थित गोदावरीमा जन्मिएका उनले इन्फर्मेसन टेक्नोलोजीमा स्नातक गरिरहेका छन्।

जी-बब ७ महिनाअघि एनटीएफले आयोजना गरेको र्‍याप ब्याटलमा सहभागी भएर भाइरल भएका हुन्, जसलाई उनले लागुऔषध कारण निरन्तरता दिन सकेनन्। उनी फाइनलमा सहभागी नै भएनन्।

जी–बबले ए मेरो हजुर ४ का लागि गीत ‘भाग भाग अब धेरै न दे धाक’ गीत गाएका छन् भने केही दिनअघि मात्र नयाँ गीत र भिडियो ‘फाइनल्ली भेट भयो’ युट्युबमार्फत सार्वजनिक भएको छ।