रेनु दाहालको सिको गर्दै मेयर बालेन्द्र शाह चाले अर्को कदम

काठमाडौं :

भ्रष्टाचार निवारण गर्नका लागि बेरुजुको मात्र सकेसम्म घटाउनु पर्छ । बेरुजु नियन्त्रणमा चितवनको भरतपुर महानगरपालिका सबैभन्दा अगाडि देखिन्छ । त्यही भरतपुरकी मेयर रेनु दाहालको सिको गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि बेरुजुलाई घटाउने योजना सुनाएका छन् ।

मेयर शाहले प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भएपछि बेरुजुको मात्रा घट्ने बताएका छन्। ‘सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा प्रश्न आउन सक्छन्,’ प्रमुख शाहले भने, ‘वित्तीय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ।’

आन्तरिक लेखा परीक्षण तथा बेरुजु समपरीक्षण एकाईले शुक्रबार वडा सचिव, लेखापाल र इञ्जिनियरहरुसँग गरेको अन्तरक्रियाका क्रममा शाहले बेरुजु नियन्त्रणको सुझाव दिएका हुन्। उपप्रमुख सुनिता डंगोलले हतारमा काम नगर्न सुझाव दिइन्।

‘भोलि बेरुजु देखिने गरी काम गर्नुहुँदैन। अहिले सम्पन्न गरेका कामसम्बन्धी भोलि फाइल पल्टाएर सुरुदेखि हेर्नु नपरोस्,’ उनले भनिन्। उपमेयरको बोल्ड बोली पछि सामाजिक सञ्जालमा मेयर बालेन साह भन्दा उपमेयर सुनिता डंगोल झन् कडा बनेर निस्किएको टिप्पणी भइरहेको छ ।

त्यसैगरी, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार विहान निरिक्षण गर्दै उनले सो कुरा बताएका हुन् । २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन् ।

मेयर साहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रिया समेत गरे । अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तरक्रिया पश्चात उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुशी व्यक्त गरे । उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिव तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन पनि दिएका छन् ।