क्षमा बिन्दुको स्वप्रेम: आफैंसँग विवाह

भारत गुजरातकी एक कन्याले आफैंसँग विवाह गरेकी छन्। २४ वर्षीया क्षमा बिन्दुले आफैंसँग रीतिरिवाजपूर्वक विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गुजरातको बडोदरास्थित आफ्नै घरमा बुधबार साँझ ‘हल्दी र मेहन्दी’ को रीतिरिवाजका साथ उनको विवाह भएको हो। यसअघि जुन ११ मा आफैंसँग विवाह गर्ने योजना उनले बनाएकी थिइन्। तर विवाद आउने सक्ने भएकाले उनले तीन दिनपहिला विवाह गरेकी हुन्।

भविष्यमा कोही मन पर्‍यो भने जीवनसाथी बनाउनुहुन्छ भन्ने आजतकको प्रश्नमा उनले आफू कसैकी पत्नी भएर रहन नसक्ने बताइन्। उनको विवाहमा कुनै पण्डितको उपस्थिति थिएन, निश्चित आफन्तजन मात्र थिए। विवाह उत्सवमा ब्लुटुथ स्पिकरबाट विवाहमा पढिने मन्त्र बजाइएको थियो। उनी आफैंले वरमाला, सिन्दूर र मंगलसूत्र लगाएकी थिइन्। उनी एक्लै विवाहमण्डपको हवनकुण्डमा सातपटक घुमेकी थिइन्।

विवाहको कार्यक्रम सकिएपछि उनले आफूले आफैंसँग विवाह गरेको सञ्चारमाध्यमलाई बताएकी थिइन्। उनले पुरुषसँग विवाह गर्न नचाहेको तर बेहुली बन्ने इच्छा भएकाले आफैंसँग यस्तो कर्म गरेको बताएकी छन्। ‘म सायद देशकी स्वप्रेम (सेल्फ लभ) को उदाहरण दिने पहिलो कन्या हुँ,’ उनले सञ्चार माध्यमसँग भनिन्।

तोकिएको मितिभन्दा अघि किन विवाह गरेको भन्ने प्रश्नको उत्तरमा उनले आफूलाई ट्रोल गरिएको र विवाह गर्ने भनेर तोकिएको मन्दिरमा पनि विरोध भएको बताइन्। पण्डितले विवाह कार्यक्रममा सहभागी हुन इन्कार गरेको र सामाजिक सञ्चालमा पनि आफूले आफैंसँग गर्न लागेको विवाहबारे धेरै आलोचना भएको उनले बताइन्।

कुनै अड्चन नहोस् भनेर आफ्नै घरमा विवाह गरेको उनले स्पष्ट पारिन्। ‘म अत्यन्त खुसी छु। मलाई ट्रोल गर्नेलाई म भन्न चाहन्छु कि यो मेरो जिन्दगी हो र आफ्नै लागि यो बाटो चुनेकी हुँ,’ उनले भनिन्।

हनिमुन मनाउन गोवामा एक्लै जाने तयारी गरिरहेको उनले बताइन्। विवाहको रीतिरिवाज सम्पन भएपछि उनले भनिन्, ‘म अत्यन्त खुसी छु। अन्ततः म विवाहित बनेकी छु।’ उनले ऐनामा आफैंले आफैंलाई चुम्बन गरेको फोटो सार्वजनिक गरेकी छन्। विवाह सम्पन्न भएपछि उपस्थितजन ‘लन्डन ठुमुकदा’ नामक गीतमा नाचेका थिए।

विवाहको विरोध

यो विवाहलाई लिएर सामाजिक तथा धार्मिक संस्थाले आपत्ति जनाएका छन्। आपत्ति जनाउनेले यसप्रकारको चलन ठिक नभएको र यसले सामाजिक परम्परा तथा सम्बन्धलाई चुनौती दिएको बताएका छन्। वरवधूको प्राकृतिक जीवनको साटो यसप्रकारको उच्छृंखल कार्यले मनोविकारलाई जन्म दिने तर्क सामाजिक तथा धार्मिक संस्थामा संलग्नहरूको छ। तर क्षमा बिन्दु यस्ता आलोचना मत्थर हुँदै जाने बताउँछिन्।

बिबिसी हिन्दी सेवासँगको कुराकानीमा उनले भनेकी छन्, ‘यी मानिसले भिन्न लैंगिक पहिचान भएका एलजिबिटिक्युको विषयमा पनि यस्तै भन्थे। आज कानुनले यो कुरालाई सम्मान दिएपछि उनीहरू चुप भएका छन्। मेरो कदमको आलोचना गर्ने पनि चुप हुनेछन्। आफू लैंगिक समानताको पक्षमा रहेको बताउँदै उनले यसका पक्षमा लड्न आफू सधैं तयार रहने बताइन्। (नागरिक बाट)