मन्त्री झाँक्रीको कामबाट प्रधानमन्त्री देउवा दंग !

काठमाडौं, २८ जेठ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग खुशी छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि पछिल्लो समय प्रभावकारी र समन्वयात्मक भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री देउवाले मन्त्री झाँक्रीको मुक्तकण्ठले प्रशंसा गर्न थालेका छन् ।

हुन त काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जस कसले लिने ? भन्ने होडबाजी चलेको छ । काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र शाहले पनि यसको जस लिन खोजेका छन् । तर, स्थानीय तहको निर्वाचन हुनु अघिदेखि नै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि दीर्घकालिन समाधान खोज्नुपर्ने भन्दै त्यही काममा बढि सक्रिय थिईन् । उनले मिडियामा पनि काठमाडौंको फोहोर व्यवस्थापन गरेरै छाड्छु भन्ने अभिव्यक्ति दिएकी थिईन् । काठमाडौं महानगरका नवनिर्वाचित प्रमुख र उपप्रमुख दुवैसँग मन्त्री झाँक्रीले मन्त्रालयमा गम्भीर छलफलसमेत गरेकी थिईन् । उनले आफ्नो तर्फबाट जस्तोसुकै सहयोग रहने भन्दै सोहीअनुसार काम गर्न आग्रह गरेकी थिईन् ।

मन्त्री झाँक्रीकै नेतृत्वदायी र हस्तक्षेपकारी भूमिकाका कारण काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाबासीबीच फोहोर व्यवस्थापनसम्बन्धी १८ बुँदे सहमति भएको थियो । यसको लागि मन्त्री झाँक्रीले ठूलो मेहनत गर्नुपरेको थियो । यो सहमति भएसँगै काठमाडौंमा महिनौंदेखि थुप्रिएको फोहोर हिजो (शुक्रबार) बाट धमाधम उठ्न थालेको छ । अहिले जताततै फोहोर उठाउन थालिएको दृश्य देख्न पाईन्छ ।

फोहोर उठ्न थालेपछि यसको जसले कसले लिने ? भन्ने होबाडजी पनि देखिएको चर्चा चल्न थालेको छ । प्रधानमन्त्री देउवाले भने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्री झाँक्रीले नै मुख्य भूमिका खेलेको भन्दै प्रसन्न छन् । मन्त्रीहरु र आफूनिकट नेताहरुसँगको आन्तरिक छलफलमा समेत प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनबारे मन्त्री झाँक्रीले चमत्कार गरेको बताउने गरेका छन् । उनी मन्त्री झाँक्रीको कामबाट दंग परेका छन् । अहिले यो विषयमा बालुवाटारमा समेत चर्चा चल्न थालेको छ ।