गठबन्धनलाई मन्त्री हेरफरमा सकसः एकीकृत समाजवादीमा विवाद बढ्दा माओवादीमा पनि दबाव, के छ कांग्रेसको तयारी ?

काठमाडौं– नेकपा एकीकृत समाजवादीपछि नेकपा माओवादी केन्द्रमा पनि सरकारमा सहभागी मन्त्री फेर्ने चर्चा सुरु भएको छ। सरकारमा सहभागी मन्त्री फेरबदल गर्ने गृहकार्य माओवादी केन्द्रमा पनि सुरु भएको हो। एकीकृत समाजवादीले जेठ २२ गते आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी स्वास्थ्य मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री प्रेम आले र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

पार्टीको सचिवालय बैठकले गरेको निर्णय हप्ता दिनसम्म पनि कार्यान्वयन हुन सकेको छैन। संसदबाट बजेट पास नहुँदै आफूहरुलाई हटाउन खोजिएको भन्दै मन्त्रीहरुले चर्को विरोध गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तत्काल निर्णय कार्यान्वयन गराउनबाट पछि हटेको बताइएको छ।

माओवादी केन्द्रमा पनि मन्त्री फेरिने चर्चा

माओवादी केन्द्रले पनि बजेट पास भएपछि मन्त्री फेर्ने गरी गृहकार्य सुरु गरेको नेताहरुले बताएका छन्। पूर्व स्थायी कमिटी सदस्य गणेश साहले एकीकृत समाजवादीपछि माओवादीबाट पनि मन्त्री फेरिने बताए। ‘उनीहरुको फेरिएपछि हाम्रा मन्त्री पनि फेरिने कुरा नकार्न सकिन्न,’ उनले भने। उनले अहिले तत्कालका लागि भने पार्टी ुपर्ख र हेरुको अवस्थामा रहेको बताए। ‘अहिले वेट एण्ड सि को अवस्थामा छ, एकीकृत समाजवादीको पनि केही दिन पर्खिने भनेको हो गठबन्धनमा,’ साहको भनाइ छ। तर, कसलाई फिर्ता बोलाउने र कसलाई मन्त्री बनाउने भन्नेबारे भने कुनै निर्णय भइनसकेको नेताहरुको भनाइ छ।

अहिले सरकारमा रहेका मन्त्रीहरुमध्ये प्रतिनिधि सभाको चुनावमा उम्मेदवार हुन इच्छुकलाई फिर्ता बोलाउने माओवादीको तयारी छ। ‘चुनाव लड्नेलाईअहिले देखि नै तयारी गर भनेर मन्त्रीबाट फिर्ता बोलाउने निर्णय हुनसक्छ,’ माओवादी केन्द्रका एक अर्का नेताले भने। माओवादी केन्द्रका तर्फबाट उर्जा, जलस्रोत तथा सिचाँईमा पम्फा भुसाल, अर्थमा जनार्दन शर्मा, शिक्षा, विज्ञान तथा प्रविधिमा देवेन्द्र पौडेल,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा शशी श्रेष्ठ र युवा तथा खेलकुदमा महेश्वरजंग गहतराज सरकारमा सहभागी छन्। बोधमाया कुमारी यादव माओवादी केन्द्रका तर्फबाट राज्यमन्त्री छिन्।

जसपाले के गर्छ ?

गठबन्धनभित्र स्थानीय तह निर्वाचनको परिणामलाई लिएर एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०ले असन्तुष्टि व्यक्त गरिरहेका छन्। यी दुई पार्टीका केही नेताहरुले गठबन्धनको औचित्य नभएको भन्दै आउने चुनावमा गठबन्धन गर्न नहुनेसम्मको तर्क अघि सारिरहेका छन्। एकीकृत समाजवादीले मन्त्री फर्ने निर्णय गरेसँगै जसपामा पनि मन्त्री फेर्नुपर्ने माग उठेको थियो। एकीकृत समाजवादीका मन्त्री फेर्दा जसपाको विवाद झन बल्झिने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि केही समय पर्खन नेपाललाई आग्रह गरेको बताइन्छ। एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले गठबन्धनमा जसपा र माओवादीलाई पनि मन्त्री फेर्नुपर्ने दवाब परेको बताए। उनले जसपा र माओवादीभित्रको विवादका कारण पनि केही समय पार्टीको निर्णय कार्यान्वयन नभएको बताएका छन्।

समाजवादीमा मन्त्री फेर्ने निर्णयले विवाद बढ्दो

पार्टीले मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हप्ता दिनसम्म पनि निर्णय कार्यान्वयन नहुनेको कारण बजेटमाथिको छलफल भएको एकीकृत समाजवादीका नेताहरुले बताएका छन्। तर, मन्त्रीहरुले भने पार्टीप्रति नकारामत्मक धारणा व्यक्त गरेको भन्दै पार्टीभित्र विरोध बढ्न थालेको एक नेताले बताए। उनले मन्त्रीहरुले पहिले नै ६ महिनाका लागि मन्त्री हुने सहमति अनुसार भएको भए पनि लामो समय बस्न खोजेको ती नेताको भनाइ छ। ‘मन्त्रीहरुको प्रतिक्रिया यो बिचमा त्यति राम्रो थिएन। विभिन्न समस्याहरु उहाहरुले सिर्जना गर्नुभएको कुराबाट लामो समय बस्न चाहनुहुन्छ कि जस्तो देखिन्छ। तर, उनीहरुको इच्छाले हुने कुरा भएन,’ ती नेताले भने।

पर्यटन मन्त्री आलेले आफू मन्त्रीबाट हट्न तयार भएको तर आफ्ना विरुद्धमा पार्टीकै केही नेताहरु लागेको भन्दै सार्वजनिक रुपमा पार्टीका नेताहरुप्रति रोष प्रकट गरेका थिए। स्वास्थ्य मन्त्री खतिवडाले पनि आफूलाई पार्टीको निर्णय नै थाहा नभएको भन्दै पार्टी निर्णयको चर्को विरोध गरेका थिए। तर, एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने मन्त्री फेर्ने निर्णय कार्यान्वयन नभए गठबन्धनकै औचित्य समाप्त हुने भन्दै चेतावनी दिइरहेका छन्। उनले शुक्रवार संसदबाट बाहिरिने क्रममा पनि निर्णय कार्यान्वयनको विकल्प नभएको बताए। ‘हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ। यो तुरुन्त लागू हुनुपर्छ। नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ। यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ। अरु कुनै विकल्प छैन,’ खनालले भनेका छन्।

के गर्ला कांग्रेसले ?

सत्ताको नेतृत्व गरिरहेको कांग्रेसमा पनि मन्त्री बेलाबेला मन्त्री हेरफेरको विषय चर्किन्छ। तर पछिल्लो सयम भने यसबारे खासै चर्चा भएको छैन। कांग्रेस महामन्त्री गगन थापाले भने नेपाली कांग्रेसमा पनि नयाँ अनुहार मन्त्री बन्न चाहिरहेको बताइएका छन्। एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय आएपछि सोमवार कांग्रेस महामन्त्री थापाले यसबारे आफ्नो धारणा राखेका हुन्। ुखासगरीकन नयाँ, अहिलेसम्म मन्त्री नहुनुभएका केही साथीहरूलाई आफ्नो काम देखाउने मौका पाउनुपर्छ भन्ने व्यापक रूपमा माग छ,ु थापाले भने। मन्त्री हेरफेर गर्ने कि नगर्ने भन्ने कुरा चाहि प्रधानमन्त्री देउवाकै इच्छामा भर हुने उनले बताए।

यसअघि गत माघमा कांग्रेसले सुजाता कोइरालादेखि अन्य नेताहरुलाई मन्त्री बनाउने चर्चा चलाएको थियो। कोइरालालाई उद्योग मन्त्री बनाउने चर्चा चले पनि हाल उक्त मन्त्रालय दिलेन्द्र बडुले सम्हालिसकेका छन्। महाधिवेशनमा प्रकाशमान सिंहलाई सभापतिमा सघाए वापत सुजातालाई मन्त्री बनाउने तयारी गरिएको थियो। यसअघि उद्योगमा गजेन्द्र हमाललाई नियुक्त गरिएको थियो। हमाल विवादमा तानिएपछि असोज २४ गते पदबाट राजिनामा दिए। देउवाले कानुन मन्त्रीमा चैत २४ गते गोविन्द बन्दीलाई नियुक्त गरेका छ।

गठबन्धनमा कांग्रेसले पाएको भाग रक्षा मन्त्रालय अहिले देउवाकै मातहतमा रहेको छ। मिनेन्द्र रिजालले गत पुस १ गते राजिनामा दिएपछि यो मन्त्रालय देउवाले आफैले सम्हाल्दै आएका छन्। १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रिजालले रक्षामन्त्रालयबाट राजीनामा दिएका हुन्। पहिलो पोष्टबाट साभार