प्रचण्डलाई ओलीको कटाक्ष : एमाले जस्तो हुन पाए मान्छे कुट्दै हिंड्थे

२७ जेठ, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल अरु पार्टीहरुसँग तुलना गर्न नसक्ने गरी मजबुत बनेको प्रमाणित भएको बताएका छन् ।

मोरङमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सिटमा थोरै तलमाथि भए पनि एमाले सबभन्दा ठूलो पार्टी भएको बताए । स्थानीय चुनावमा लोकप्रिय भोट सबभन्दा बढी एमालेले पाएको भन्दै उनले भने, ‘सिटमा अतिकति तलमाथि भयो होला । तर त्यो जम्मा सिट आफ्नो भोटले होइन । यो थालमा जुठा गाँसहरु परेका छन् । नेकपा एमाले त्यस्तो होइन, आफ्नै भोट छ ।’

तर कतिपयले कांग्रेसलाई एमालेको हालत बनाइदिने भनेर धम्की दिएको भन्दै प्रचण्डप्रति व्यंग्य गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हालै एक सार्वजनिक कार्यक्रममा कांग्रेसमा दम्भ देखिए एमालेको जस्तो हालत बनाउने चेतावनी दिएका थिए ।

‘कांग्रेसले घमण्ड नगरोस्, घमण्ड गर्यो भने एमालेकै हालत बनाइदिन्छु । एक जनाले धाक लगाएको सुनियो’, प्रचण्डको नाम नलिई एमाले अध्यक्ष ओलीले भने, ‘तिनको उचाइ कति छ भनेको कम्मर कम्मर अलि पुग्दा रहेनछन् । धाक चाहिं कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने ।’

‘एमाले जस्तो हुन पाए के गर्थे होलान् तिनले ? मान्छे कुट्दै हिंड्थे । पहिले मान्छे मार्दै हिंडेको होइन ?’ ओलीले भने, देशको सबभन्दा ठूलो बनाउन पाए के खोज्थे !’