‘संसद भवन र देउवा, ओली, प्रचण्ड निवास अगाडि फोहोर थुपार्ने आँट गरे २४ घण्टामा निकास ’

काठमाडौं । मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकासहित काठमाडौं उपत्यकाको फोहोरमाथि राजनीति भइरहेको बेला यस समस्याको निकासका लागि जनस्तरबाट नयाँ सुझाव आएको छ ।

सामाजिक सञ्जालमा उनीहरुले संसद भवन र ठूला दलका नेता शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल प्रचण्डको निवास अगाडि फोहोर थुपार्ने आँट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरे २४ घण्टामा फोहोर व्यवस्थापनको अवरोध हट्ने बताएका छन् ।

फोहोर व्यवस्थापनस्थलका बासिन्दाको समस्याको दीर्घकालिन समाधान नगर्ने र फोहोरका नाममा झण्डै दुई दशकदेखि दल र नेताहरुले राजनीति गर्दै आएकाले उपत्यकावासी रुष्ट देखिन्छन् । काठमाडौंमा हप्तौंदेखिको फोहोर उठ्ने नसक्दा दुर्गन्ध फैलिनुका साथै ठूलो स्वास्थ्य समस्या आउने संभावना बढेर गएको छ ।

फोहोर व्यवस्थापनस्थलका स्थानीय जनप्रतिनिधिसँग स्थानीयको माग सम्बोधन गर्ने लिखित सहमतिपछि पनि स्थानीयको अवरोधका कारण फोहोर व्यवस्थापन हुन नसक्दा यो समस्या पेचिलो बन्दै गएको र ठूला दल र नेताहरुले यसमा राजनीति गरिरहेको जनताको बुझाई छ ।