सफल पत्रकार रवि लामिछाने पनि अब सक्रिय राजनीतिमा, यस्तो छ तयारी !

काठमाडौं । यसपटकको स्थानिय तहको चुनावले देशभर नयाँ आशा र उत्साह नै ल्यायो । काठमाडौं महानगर लगायत देशका केही ठाउँमा स्वतन्त्र उम्मेदवारहरुले बाजी मारे ।

यो घटनाले राजनीतिक दलहरुको टाउकोमा घन बजारिएको छ र उनीहरुका लागि खतराको घण्टी समेत बजेको छ । अब स्थानिय तहमा मात्र नभई देशको राष्ट्रिय राजनीतिमा स्वतन्त्रबाट बालेनहरु उदाउनुपर्ने जोडतोड माग उठिरहेको छ र यसको तयारी समेत सुरु भएको छ ।

यसैबीच, आउदो मंसिरमा हुने भनिएको संसदीय चुनाव झनै रोचक बन्ने देखिएको छ । चुनाव आउन करिब ६ महिना बाँकी रहेका बेला प्रतिनिधीसभा सदस्यका लागि राजधानी लगायत देशभरबाट स्वतन्त्र उम्मेदवारी दिन थालेका छन् ।

यही क्रममा लामो समयदेखि टेलिभिजन क्षेत्रमा काम गर्दै आएका लोकप्रिय टेलिभिजनकर्मी रवि लामिछाने राजनीतिक मैदानमा उत्रिने तयारी गरेका छन् । लामिछाने निकट स्रोतका अनुसार उनले संसदीय चुनावमा स्वतन्त्रबाट भिड्ने तयारी भित्रभित्रै गरिरहेका छन् ।

टेलिभिजन कार्यक्रममार्फत राजनीतिक, आर्थिक, सामाजिक क्षेत्र विकृति विसंगतिलाई जनसमक्ष ल्याउँदै आएका र स्वदेश र विदेशमा समस्यामा परेकाहरुलाई सोही कार्यक्रममार्फत सहयोग गर्दै आएका उनले अब राजनीतिमा लागेर देश बनाउने सोच बनाएको उनकै एक सहयोगीले बताए ।

उनले आफूले हाल सञ्चालन गर्दै आएको ग्यालेक्सी टेलिभिजनमा रहेको आफ्नो स्वामित्व बिक्री गर्ने र स्वतन्त्ररुपमा चुनाव उठ्ने तयारीमा छन् । लामिछाने काठमाडौंकै कुनै एक क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

यदि दलबाट चुनाव लडिहाले पनि जनताको नजरमा बदनाम भइसकेका दलहरुबाट चुनाव नलड्ने उनको योजना रहेको छ । लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रम निकै लोकप्रिय पनि छ । काठमाडौं महानगरमा स्वतन्त्रबाट बालेन साहले शानदार जित हासिल गरेपछि सञ्चारकर्मी लामिछानेलाई पनि राजनीति आउन देशभरविदेशबाट दबाब आइरहेको छ ।