हिन्दुराज्य र धर्मनिरपेक्षताका विषयमा जनमतसंग्रह गर्नुपर्छ, नेपालमा अब राजसंस्था पुनःस्थापना असम्भव : कमल थापा

बुटवल २६ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्थाको पुनःस्थापना अब सम्भव नरहेको बताएका छन् । बिहिबार बुटवलमा आयोजित एक कार्यक्रममा थापाले अब संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने भन्दै यस्तो बताएका हुन् ।

हिन्दुराज्य र धर्मनिरपेक्षताका विषयमा जनमतसंग्रह गनुपर्ने बताएका उनले असम्भव एजेन्डा बोक्दा आफैँ असफल हुने भएकाले राजतन्त्र पुनःस्थापनालाई छोडेर पार्टीले हिन्दुराज्यको एजेन्डा बोकेको स्पष्ट पारेका छन् ।

निर्मलनिवासले निरन्तर हस्तक्षेप गरिरहेको आरोप लगाएका थापाले आफू कुनै एक व्यक्तिको पछि सती नजाने स्पष्ट पारेका छन् । पारस शाहबाट देश विकास हुने कुनै आशा नदेखिएकाले पार्टी राजसंस्थाको एजेन्डाबाट बाहिरिएको समेत बताएका छन् ।

उनले भने, ‘हुँदै नहुने र असम्भव कुराको पछि हामी लाग्न सक्दैनौँ । पारसको निम्ति हामी सती जाने ?’