व्यापक आलोचना भएपछि साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार

सवारी साधनमा साउन १ गतेबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।ब्यापक आलोचना भएपछि यातायात ब्यवस्था विभागले मंगलबार विज्ञप्ति निकालेर साउन १ गतेबाटै सबै सवारी साधनमा यो नियम अनिवार्य नहुने तर २०७८ साल मंसिर १ गतेदेखि दर्ता भएका सवारीसाधनमा भने यो नियम अनिवार्य गरिने जनाएको हो ।

विभागले यसअघिको सूचनाले उपभोक्तालाई पारेको असुविधाप्रति क्षमायाचना गरेको छ । विभागले आउँदो साउन १ गतेबाट सडकमा गुड्ने सवै सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट हुनुपर्छ भन्न नखोजेको भन्दै राजपत्रमा यससम्बन्धि सूचना प्रकाशित भएको मिति अर्थात २०७८ साल मंसिर १ गते यता दर्ता भएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट भए नभएको अनुगमन भने गर्नुपर्ने भएको बताएको छ ।

तर, साउन १ बाट सबै सवारीसाधनलाई अनिवार्य नगरिएपनि इम्बाेस्ड नम्बर प्लेट उपलब्ध गराउने सम्झाैता गरिएको कम्पनीसँगको सम्झाैताको बाँकी समयभित्र बाँकी सबै सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गरिने विभागले जनाएको छ ।

साउन १ गतेसम्ममा सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न असम्भव रहेको स्वीकार्दै विभागले तर इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कुरा स्वेच्छिक नभइ अनिवार्य भएको बताएको छ ।

विभागले २०७८ फागुनपछि किनबेच भएका, २०७९ जेठ १ गतेपछि नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको र बाँकी २५ लाख सवारीसाधनमा पनि क्रमश: जडान गर्दै लैजाने जनाएको छ ।

यसका लागि आवश्यक संरचना र तयारी भइसकेकाे भन्दै विभागले अहिले २ लाख ५० हजार वटा प्लेट तयारी अवस्थामा रहेको, आवश्यक जनशक्ति पनि ब्यवस्था गरिएको, र अन्य प्राविधिक तयारी पनि सकिएको विभागको भनाइ छ ।