पार्टीले कारवाहीको तयारी गरेपछि घनश्यामको प्रतिक्रियाः पहिला केपी ओलीलाई निकाल्नुपर्छ

काठमाडौँ । नेकपा एमालेले घनश्याम भुसालमाथि कारवाहीको तयारी गरेपछि उनी झनै फायर बनेका छन् । नेता भुसालले उल्टै पार्टी अध्यक्ष केपी ओलीमाथि कारवाहीको माग गरेका हुन् ।

भुसालले आफूलाई पार्टीबाट निकाल्नेभए त्यो भन्दा पहिला केपी ओलीलाई निकाल्नुपर्ने बताए । उनको यो अभिव्यक्तीपछि भुसाल नेकपा एसतर्फ ढल्किएको र पार्टी प्रवेश गर्न आन्तरिक कुराकानी चलिरहेको आशंका एमालेकै नेताहरुले व्यक्त गरिरहेका छन् ।

नेता भुसालले नेकपा पार्टीभित्र भएका सम्पूर्ण गलत कामहरुको छानबिन गरिनुपर्ने माग गरेका छन्। मुख्य नेताले नै पार्टीलाई बिगार्ने काम गरेको र यसमा सबैभन्दा बढी जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने भुसालले बताएका छन्।

एमाले नेता भुसालले भने, ‘पार्टीमा छानबिन गरियोस्, खोजेर हेरियोस्। एउटा घटना होइन, चुनावमा हारिएको विषय बढीमा १५ प्रतिशत होला, योभन्दा अगाडि प्रणालीगत रुपमा ओलीले बिगार्नुभएको छ, त्यसमाथि खोजखबर गर्नुपर्छ।’

एमाले अध्यक्ष ओलीकै कारण एमाले बिग्रिएको भुसालको दाबी छ। उनी भन्छन्, ‘अध्यक्ष ओलीले संसद विघटन गर्नुभएको छ। संघीय र प्रदेश सरकारहरु हिँडाउनुभएको छ। महाधिवेशनमा लिस्ट पढ्नुभएको छ। लिस्ट पढेर पनि नभएपछि फलाना–फलाना चारजनालाई भोट नदेऊ भनेर ह्विप जारी भएको छ। आदि–इत्यादि सबै विषयको छानबिन हुनुपर्छ।’

अहिलेको चुनावको विषयलाई मात्रै लिएर कसैलाई कारबाही चलाउन नमिल्ने तर्क गर्दै एमाले नेता भुसालले भने,‘गएको १० वर्षदेखि पार्टीमा कुनै वैचारिक काम भएको छैन भने अहिलेको चुनावमा यस्तो हुनु स्वाभाविक हो।’

एमालेका वैचारिक नेता भुसालमाथि पार्टीको अनुशासन आयोगले कारबाहीको तयारी गरेको छ। भुसालले एक निजी टेलिभिजनलाई दिएको अन्तरवार्तामा अध्यक्ष ओलीको आलोचना गरेको भन्दै अनुशासन आयोगले कारबाहीका लागि पार्टीमा सिफारिस गरेको हो।

तर, भुसालले चाहिँ नेतृत्वको आलोचना गरेकै आधारमा कारबाही गर्न नमिल्ने जिकिर गर्दै पार्टी बिगार्ने मुख्य दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने बताएका छन्।