मन्त्री हेरफेरको कथा- घर हिँडेका मन्त्रालय फर्के, शपथ खान तयारले दौरा थन्क्याए

काठमाडौं-आइतबार सम्पन्न नेकपा (एकीकृत समाजवादी)को सचिवालय समितिले अप्रत्यासित निर्णय गर्यो । त्यो निर्णय पार्टीबाट सरकारमा सहभागी बहालवाला मन्त्रीहरुका लागि सबैभन्दा अप्रत्याशित भयो ।

पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री सिफारिस गर्ने गरेको निर्णयले स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ पार्टीको निर्णयबाट चकित भए । राज्यमन्त्रीबाट बढुवा गर्दै मन्त्री सिफारिस गरिएका भवानी खापुङ पार्टीको निर्णयबाट पक्कै खुशी भए ।

एकीकृत समाजवादी सरकारमा सहभागी हुने बेलामा ६–६ महिनामा मन्त्री हेरफेर गर्ने आधारभूत सहमति भएको थियो । तर, यसबीचमा मन्त्री हेरफेरबारे एकीकृत समाजवादीमा कुनै छलफल भएको थिएन ।

हप्ता दिन अगाडि दृष्टिसँगको अन्तर्वार्ताका क्रममा पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘अहिले मन्त्री फेर्ने योजना छैन’ भनेका थिए । तर, आइतबार भने अप्रत्याशितरूपमा अध्यक्ष नेपालले मन्त्री फेर्ने निर्णय गराए ।

मन्त्री फर्ने निर्णय गरेको एकीकृत समाजवादीले आइतबार साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएको थियो । सोमबार साँझसम्ममा शपथ खुवाउने आधारभूत तयारी थियो । तर, सोमबार दिउँसो नै माहोल ३६० डिग्री घुम्यो । यसमा धेरै पक्षले भूमिका खेलेको छ ।

हामीले अवलम्बन गरेको संसदीय प्रणालीमा दल निर्णायक हुन्छ । दलले गरेको निर्णय नै अन्तिम हुन्छ । यस आधारमा एकीकृत समाजवादीले गरेको मन्त्री फिर्ता बोलाउने निर्णय नै अन्तिम हो । तर, विविध कारण मन्त्री हेरफेर रोकियो ।

मन्त्री झाँक्रीको दौड, प्रचण्डको आश्वासन

आइतबार पार्टीले फिर्ता बोलाउने निर्णय गरेलगत्तै शहरी विकासमन्त्री रामकुमार झाँक्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगे ।

वर्तमान सत्ता गठबन्धनका मुख्य घटक माओवादी केन्द्र र माओवादी अध्यक्ष प्रचण्डको भूमिका निर्णयक हुने बुझेका झाँक्रीले प्रचण्डसँग अहिलेकै अवस्थामा मन्त्री फेर्न नहुने केही कारणहरु सुनाए ।

स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै संघीय निर्वाचनतर्फ देश होमिएको, संसद्मा बजेटबारे छलफल चलिरहेकाले जवाफ दिन बाँकी नै रहेको र मन्त्री हेरफेरले गठबन्धनका अन्य दलमा पनि प्रभाव पर्ने सुनाउँदै झाँक्रीले प्रचण्डसँग तत्काल मन्त्री हेरफेर रोक्नका लागि पहल गर्न आग्रह गरे ।

माओवादीभित्र पनि मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको बेला एकीकृत समाजवादीले मन्त्री फेर्दा आफूलाई पनि दबाब बढ्ने बुझाइका साथ प्रचण्डले ‘म पहल गर्छु’ भन्दै झाँक्रीलाई आश्वासन दिएर पठाए ।