हामी सरकारबाट हटेपछि वातावरणका विषयमा चिन्ता गर्ने कोही भएन : ओली

काठमाडौं २२ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार पैसाबाहेक अरु केही नसोच्नेहरुको हातमा परेको गुनासो पोखेका छन् ।

आइतबार विश्व वातावरण दिवसको अवसर ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा सहभागी भएका ओलीले आफ्नो सरकार हटेपछि वातावरणका विषयमा चिन्ता गर्ने कोही नभएको भन्दै यस्तो बताएका हुन् ।

हामी सरकारबाट हटेपछि कसले कसले सोच्ने वातावरण, कसले सोच्ने अरु ? पैसाबाहेक अरु नसोच्नेहरुका हातमा सरकार पुगेपछि के को, वातावरण के को के ? त्यो सबै टुंगियो कुरा’ उनले भने ।

वातावरण विनाशको डिलमा पुग्न लागेको बताएका ओलीले आफू प्रधानमन्त्री हुँदा वातावरण र जलवायु परिवर्तनको महत्व दर्शाउनका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम सञ्चालन गर्ने निणर्य समेत गरेको जानकारी गराएका छन् ।

वातावरण संरक्षणका लागि वनको भन्दा पनि हिमालको भूमिका महत्वपूर्ण रहने ओलीको तर्क रहेको छ ।