जब केपी ओलीले ११ वर्षअघि प्रधानमन्त्री झलनाथ खनालको राजीनामा मागेका थिए

काठमाडौ :

नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासनको कारवाही सिफारिसले पार्टीभित्र तरंग ल्याएको छ । पार्टी अध्यक्षका विरुद्ध बोलेको भन्दै पार्टीको अनुशासन आयोगले उनलाई कारवाहीको सिफारिस गरेको हो । घनश्यामले स्थानीय तह निर्वाचनमा पार्टीले पराजय भोग्नुको कारण अध्यक्ष केपी ओली भएको बताएका थिए । सोही आधारमा उनले राजनीनामा दिनुपर्ने उनको माग थियो ।

घनश्यामले अध्यक्ष ओलीको राजीनामा माग गरेपछि ओलीले अनुशासन आयोगमार्फत उनलाई कारवाही गर्न निर्देशन दिएका थिए । सोही आधारमा केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले उनलाई कारवाही सिफारिस गरेको हो ।

अब बस्ने सचिवालय बैठकले उनीमाथिको कारवाहीको विषयमा निर्णय गर्नेछ । १९ सदस्यीय सचिवालयको बहुमत सदस्यले उनीमाथिको कारवाही सदर गर्नुपर्ने हुन्छ ।

आफुविरुद्ध अभिव्यक्ति दिएकोमा आक्रोशित बनेका अध्यक्ष ओलीले आजभन्दा ११ वर्षअघिको अभिव्यक्ति स्मरण गर्न सकिन्छ । त्यो बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालको राजीनामा माग गरेका थिए । तत्कालिन वरिष्ठ नेता समेत रहेका ओलीले सार्वजनिक अभिव्यक्ति मार्फत नै खनालको राजीनामा माग गरेका थिए ।

‘असफल भइसकेको यो सरकार फेरि कायम राखिराख्नुको कुनै अर्थ छैन् । त्यसकारण यस सरकारलाई धन्यवादसहित तिन महिना खेर फालेता पनि, तिन महिना सरकार नामको चिज/चिडिया यस हाँगामा बस्यो, जे रस खाए खायो, नखाए नखायो, धन्यवाद छ अब कुर्सी खाली गर,’ ओलीले भनेका थिए ।

ओली यत्तिकैमा रोकिएनन् । उनले भनेका थिए, ‘राष्ट्रिय सहमतिका लागि बाटो छोड र शान्ति र संविधानको रड, आफैंले हिजो लगाएको रड आफैंले हिजो बजाएको सारंगी, आफैंले हिजो बजाएको एकतारे सम्झ । राजीनामा गरेर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर ।’

देशलाई एउटा व्यक्ति हेरेर देशलाई जहाँ सुकै जाओस् भन्न नसकिने उनको भनाई थियो । उनले तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकारको लागि मार्ग प्रशस्त गर्न माग गरेका थिए । ‘राष्ट्रिय सहमति निर्माण गर्नै पर्दछ । एमाले, माओवादी, कांग्रेस, मधेशवादी दलहरू सरकारमा सामेल हुनसक्नेस्थिति निर्माण गर्नुपर्दछ ,’ ओलीको भनाई थियो । आजभन्दा ११ वर्ष अघि आफ्नै पार्टीको सरकारविरुद्ध लागेका ओलीले अहिले भने आफुविरुद्ध बोल्ने घनश्याममाथि कडा कदम चाल्न लागेका छन् ।

ओली, पार्टी र चुनावबारे घनश्यामले के भनेका थिए ?

एक टेलिभिजनमा बोल्दै घनश्यामले नेकपा एमाले भनेको ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएको बताएका थिए । नेतृत्वले अझ बर्बाद पार्न खोजेको तर, जनताले इतिहासको मूल्यांकन गरिसकेको बताए थिए । ‘आज हामीले जुन मत प्राप्त गरेका छौँ, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन । एमालेले इतिहासमा गरेको, लडेको, कार्यकर्ताले रगत–पसिना बगाएर गरेको योगदानको मत हो ,’ घनश्यामले भनेका थिए ।