भूतको यूद्ध

यूक्रेनमा यूद्ध घमासान भएर बारूदले ध्वांश मच्चाइरहेको छ ।

यूरोभिजन साङ्गीतिक प्रतिस्प्रधा २०२२मा यूक्रेन देशको प्रतिनिधत्व गर्यो र प्रथम पुरस्कार जित्यो । उक्त सहभागिता यूद्ध साहित्य भनेर बुझ्न मन लाग्छ । बीर रसको प्रतिरोध विरूद्धमा श्रृङ्गार रसको हतियार पनि बन्न सक्छ । म भने टिभीको स्क्रिनमा फूटबल क्लबहरू बीचका गोल ठोकाठोका युद्ध भन्दा बढि सङ्गीतका प्रतिस्पर्धा मन पराउँछु । बारूदको यूद्धले तर्साउँछ तर मञ्चमा लड्ने योद्धा पो मन पर्छ । न सवै यूद्ध मन पराएर लडिन्छन्, नत बाघ र हरिण बीचको यूद्ध टारेर टारिन्छ । मान्छे बाघप्रति टिठ मान्छ र बाघ संरक्षणको अभियान चलाउँछ । तर, बाघ बाच्न अर्को प्राणिको ज्यन जानु पर्छ । हिंसा तथा अर्को प्राणिको नास पनि मान्छे मनपराउन बाध्य छ ।

बेलाबखत नाति र मेरो बीचमा पनि यूद्ध चल्छ । स्पेशको स्पिकरमा बसेर हात उठाएपछि पालो पर्खिएकै बेला स्कूलबाट फर्किएको हुन्छ उ । बच्चोले गार्डेनमा खेल्ने साथी बनाउन मेरो औँला समाउँदै तान्दै गर्छ । मेरो मस्तिष्क मेरो बोल्ने पालो तर्किन्छ भनेर नातिलार्इ टार्न खोज्छ । कहिले म स्पिकरबाट झरेर उसको खेल्ने साथी बनिदिन्छु । कहिले यता बोल्ने पालो पाएका बखत नातिलार्इ पर्खाइरहेको हुन्छु । यस्ता यूद्ध हाम्रा दैनिकी हुन्छन् । बारूद यूद्ध आवधिक हुन्छन् । किहले छोँटो समय लडिन्छन्। कहिले बर्षौ लम्बिन्छन् । जित हारमा रोकिन्छन् । बारूद त सलाइको काँटीको टुप्पामा पनि हुन्छ । पधेँराबाट फर्किएपछि आमाले गाग्री सधै राख्ने ठाउँमा राख्नु हुन्थ्यो । त्यही सलाइका काँटीको बारूद कोर्दै अगेनामा आगो सल्काउनु हुन्थ्यो । बुवाले गोठबाट भरेर ल्याएको गाबुको दुध कराइमा खनाएर भल्काइन्थ्यो ।

माघ महिनामा अगेनाको डिलमा बसेर दिदीले स्वस्थानी कथा बाचन गर्नु हुन्थ्यो । हजुरआमा दुर्इहातका माझि औँलका बीचमा फूल पर्ने गरेर नमस्करको भावमा शीर झुकाएर नमों नम गर्दै हुनुहुन्थ्यो । अनि त्यो कथा तरकाशुर संगको युद्धबाट सुरू हुन्थ्यो । हाडबाट पहाड, रगतबाट समुन्द्र, मासुबाट माटो बनेको पृथ्वी बारेको अन्धविश्वास मेरो हार्ड ड्रइभमा भरिइरहेको थियो । मेरो सबै जस्तो स्पेश खाली रहेको मेमोरी खै कति एम्बी वा जीबी पो थियो कुन्नि ? त्यस्तै डेटाहरू मेमोरीबाट मेरो गिदीका हार्ड डिस्कमा भरिँदै गए । त्यसै गरी रामले रावणलाइ बध गरेको यूद्धको कथाले पनि एउटा फोल्डर बनाएर एउटा कुनामा थन्कायो । कौरब र पाण्डवहरूको यूद्धको विवरण, त्यो यूद्ध हुनुको कारण, महाभारतको कथाका रूपमा अर्को फोल्डर बनाएर गीदीका अर्को कुनामा थन्किन पुग्यो ।

मोदनाथ प्रश्रीतले लेखेको ‘मनोहरादेखि मानवसम्म’ भन्ने पुस्तक पढेपछि गिदी भित्रको यूद्धको स्वरूप परिवर्तन भयो । बिज्ञान सरले ब्याख्या गरेको डार्बिनको विकासवादले स्वस्थानी कथाले ओघटेको अन्धविश्वास फोल्डर डिलिट गर्न हम्मे हम्मे पर्यो ।

म ६ बर्षको हुँदा ठूला पधेँरा माथिको कोलमा भूत देखेँ । भूत हुँदैन भन्छन् कोही ! अनि आफैले देखेको छु तैँले भनेर हुन्छ भनेर जोरका तोर गर्ने गर्थेँ । उमेरले सिकाएर होला त्यस्तो जोरका तोर हुने वाक यूद्धमा सम्यमित हुन अलिअलि सिकेको छु । तर कहिलेकाही ब्लड प्रेशरले पारा चढाउँछ र त्यस्ता वाक यूद्ध त कति चल्छन् कति । हुँदाहुँदा केके कुरा पढेँ । प्रोफेसरहरूका लेक्चर सुनेँ । बिभिन्न चलचित्र हेरेँ । त्यसपछि आफैले देखेको भूत हुँदैहुँदैन भन्ने बिश्वसको लडाइ जितेँ । उहिले भूत हुन्न भन्नेहरूसंग भूत हुन्छ भनेर आफ्नो तर्क माथि पार्ने हठ ओकल्ने गर्थेँ । हिजोआज भूत हुँदैन भन्ने तर्क जित्न हठ गर्ने गर्छु । चाहे मान्नुस चाहे नमान्नुस भूत हुन्छ कि हुँदैन भन्ने गिदी भित्रको यूद्धले सेतो झण्डा देखाएर शान्ति कायम गरेको छ । र, विश्वस्त भएको छु, भूत त हुँदै हुँदैन ।

आफैले भूत देखेको साक्षी बकपत्र पढेर सुनाएको हैन ? अनि देखेको कुरा होइन भन्ने विरोधाभास बोल्दोरहेछ भन्दै हुनुहुन्छ हैन त ?

भएछ के भने मेरो गिदीको हार्ड डिस्क पुरै खाली थियो । छन त अपरेटिङ सिस्टमका केही डेटा पहिले देखि थिए होलान, तर खाली नै भन्दा हुन्छ । दिदीहरूले सुनाएका भूतका कथाहरू एउटा फोल्डरमा भरिँदा स्वस्थानीको कथा पनि रेकर्ड भएको थिएन । पधेँरामा सिद्ध भूत छन् भनेर सुन्तलीदिदीले सुनाउनु भएको थियो । कतिपय भूत आक्रामक भए पनि कतिपय सोझा भूत हुन्छन् भन्नु हुन्थ्यो । सिद्ध भूतमा पनि भलाद्मी आचरण हुन्छ भन्नु हुन्थ्यो । अनि सेता कपडा लगाएका अग्ला हुन्छन् भनेर म सुत्ने बेलामा सुताउने कथा सुनाउनु भएको थियो ।

सानै उमेरदेखि मलार्इ हिन्दी सिनेमा हेर्ने लत पनि बसेको छ अलिअलि । कतिपय भूतका कथा भएको फिलिम हेर्दा पनि रमाइलै लाग्छ । त्यही क्रममा ‘लगेरहो मुन्ना भाइ’ भन्ने फिलिम हेरेँ । त्यो फिलिम हेरेपछि मुख्य हिरो सञ्जयदत्तले सन् १९४८मै मरिसकेका महात्मा गान्धीलार्इ ६० वर्ष पछि देख्ने गरेको प्रसङ्ग छ । एक प्रकारले भन्ने हो भने गान्धीको भूत देख्थे भन्न पर्ला । रेडियोमा श्रोताले सोधेको प्रश्नको उत्तर गान्धीले हिरोलार्इ सिकाउँछन् । फिलिमको अन्त्यतिर एउटा प्रश्नको उत्तर दिन गान्धी आउँदैनन् । हिरोले गान्धीले दिएका ज्ञानको निकै अध्ययन गरेका कारण सवै कुराको उत्तर गान्धीले दिएको रहस्य चिकित्सकले बनाउँछन् । हिरोले पढेका किताबमा नलेखिएको विषयको प्रश्न दिन गान्धी नदेखिनु हिरोको गिदीको मेमोरी हार्ड डिस्कमा रहेर्ड नभएकोले रहेछ भन्ने सन्देश बुझेँ मैले ।

त्यस पछि मैले देखेको सिद्ध भूत विषयको गिदि भित्र बर्षौँ चलेको यूद्ध पनि रोकियो । त्यो भूत मैले साँझमा देखेको थिएँ । ठ्याक्कै दिदीले पधेँराको भूतको विवरण सुनाए जस्तै भूत देखेको थिएँ ।

त्यस दिन, स्कूलबाट फर्किएर घरमा पुग्दा आमालार्इ नदेखेपछि दिदीलार्इ खै आमा ? भनेर सोधेको थिएँ । दिदीले तेल पेल्न जानु भएको छ भन्नु भयो । मलार्इ थाहा भएको तेल पेल्ने काठको कोल त्यही पधेरा निर थियो । म अरू केही नभनी आमालाइ भेट्न कोलमा गएँ । तर,त्यो कोलमा राम्रोसंग तोरी नपेलिने तथा तेल कम निस्कने हुनाले आमाहरू अलि टाढको कोलमा जानु भएको रहेछ । जाडो महिना भएकोले दिन छोँटा थिए । पहेँली घाममा बारीको डिलै डिलको गोरेटो मोडिएर कोल देखिने ठाउँमा आमाहरू केही नभएर सुनसान देखेँ । त्यो कालो भएको कोलको तेर्सो काठ र बीचको मुढे भागको सुन्यताबीच मेरो गिदीको फोल्डर खुलेछ । दिदीले सुनाएको सिद्ध भूतको फोल्डरको फाइल खुलेकोले मेरा आँखाले त्यही इमेज फाइल देखेको भ्रम भयो । वास्तवमा मेरा आँखाले हैन दिमागले मात्र त्यो दृष्य देखेको थियो ।

जब मेरो गिदीको भूत यूद्ध सकियो त्यसपछि अध्यारोमा भूतले छल्ने डरले सताउन पनि छाड्यो । भूत देख्नै छाँडे । पहिला पहिला त यति डर लाग्थ्यो कि सवैजना तल्लो तलामा बसेको समयमा माथि कोठामा पुगेर बिजुलीको स्वीच थिचेर उज्यालो नपार्दासम्म कुन भुतले छल्छ अब भन्ने डर लाग्थ्यो ।

धन्यवाद,
गोविन्द बेल्वासे

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.