बालेनले जित्नु अपवाद हो, कहिलेकाहीँ यस्तो हावा चल्छ:कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बालेन शाहसहितका स्वतन्त्र उमेदवारले जित्नु अपवाद भएको बताएका छन् । स्वतन्त्र उमेदवारको जितले दलीय व्यवस्थालाई नै कमजोर पार्छ भन्ने व्याख्या ठिक नहुने पनि उनले बताए ।

उनले राजनीतिमा कहिलेकाहीँ स्वतन्त्र जिताउने हावा चल्ने भन्दै अहिले पनि काठमाडौंसहितका ठाउँमा त्यस्तो हावा चलेको बताए ।

“राजनीतिमा कहिलेकाहीँ त्यस्तो हावा चल्छ । दलहरूभन्दा बाहिरबाट जिताइयो भने त्यसले पो केही गरिहाल्छ कि भनेर मान्छेहरूलाई लाग्न सक्छ,” निर्वाचन परिणामबारे धारणा आयोजित पत्रकार सम्मेलनमा महतले भने, “काठमाडौंमा पनि त्यही भयो ।”

उनले काठमाडौंमा बालेन शाहको अग्रता र अन्य ठाउँमा पनि स्वतन्त्र उमेदवारको जितलाई अपवादका रूपमा अर्थ्याए ।

“केही ठाउँमा स्वतन्त्रले जिते अग्रता आयो भन्दैमा त्यसले दलीय व्यवस्थालाई नै कमजोर बनायो भन्ने हुँदैन,” महतले भने, “काठमाडौंमा पनि त्यही हो । अन्यत्र पनि त्यही हो । यसलाई हामीले अपवादका रूपमा लिएका छौँ ।”

उनले बालेनप्रति देखिएको जनमतलाई केपी शर्मा ओलीले राजनीतिप्रति घृणा फैलाउने काम गरेका कारण पनि पूरै राजनीतिप्रति महानगरवासीको असन्तुष्टि भएको दाबी गरे ।

“बहुमत पाएर पनि केपी शर्मा ओलीले सत्ता सञ्चालन गर्न नसक्दा र पटकपटक संसद् विघटन गर्दा राजनीतिप्रति नै असन्तुष्टि फैलिने काम भयो । त्यसको रियाक्सनमा नेपाली कांग्रेसलाई पनि घाटा भयो,” डा। महतले भने, “हाम्रा कमिकमजोरी रहेछन् भने हामी समीक्षा गर्नेछौँ ।” उनले समीक्षाका क्रममा उमेदवार छनोटमा कमीकमजोरी भएको भन्ने निष्कर्ष आए आगामी दिनमा सच्याउने बताए ।