स्थापितलाई विस्थापित बनाउने ५ विवादास्पद अभिव्यक्ति जसले घटायो उनको मत

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर पदको अन्तिम नतिजा आउनै लाग्दा महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले अघोषित जित हासिल गरिसकेका छन्। नेकपा एमालेको पकड क्षेत्र मानिएको काठमाडौँ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवारसँग २० हजार भन्दा धेरै मतले पछाडि छन्।

शुरुमा मतगणना हँदा बालेनलाई पछ्याइरहेका एमालेका स्थापित विस्तारै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा पनि पछाडि पुगे।

उम्मेदवारी दर्ता गर्न गएको दिन गठबन्धन भन्दा डबल मत ल्याउने घोषणा गरेका स्थापित अन्तत: भारी मत अन्तरले पराजित हुने भएका छन्।

स्थानीय तह २०७४ को चुनावमा काठमाडौँ महानगरपालिकका मेयरमा नेकपा एमालेका विद्या सुन्दर शाक्य मेयर भएका थिए।

२०७४ सालको चुनावमा एमाले र माओवादीको गठबन्धन थियो। अहिले एमाले एक्लै छ भने कांग्रेसलाई माओवादी केन्द्र र एमालेबाट छुट्टिएको नेकपा एसको पनि साथ थियो। चुनावी मत परिणाम सार्वजनिक हुँदा स्थापित र गठबन्धनको टक्कर टिठलाग्दो भयो ।

देशभर नेकपा एमालेको कम स्थान भइरहेको अवस्थामा स्थापित कांग्रेसकी उम्मेदवार सिर्जना भन्दा पछि पर्नु सामान्य थियो। तर यी दुईलाई उछिन्दै प्रतिस्पर्धाको शिर्ष स्थानमा रहेका बालेनले सबैलाई चकित बनाए।

चुनाव हार जितका अनेक कारण हुन सक्छन्। तर चुनावको मिति नजिकिँदै गर्दा भएको प्रचार प्रसार कार्यक्रममा भएका केही गतिविधिले स्थापितको छविलाई धुमिलाइदियो।

२५ वर्ष अगाडि काठमाडौँ महानगरपालिकाकै मेयर रहेका स्थापितलाई त्यही समयमा महानगरपालिकामा काम गर्ने महिला कर्मचारी र पत्रकारले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन। यौन दुव्र्यवहारको आरोप लागेकै कारण २०७५ सालमा तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको भौतिक योजना तथा विकास मन्त्रीबाट बर्खास्त गरिएको थियो। यही घटना अहिले पनि पटकपटक प्रश्न बनेर आयो । उनले यस विषयलाई संवेदनशीलताका साथ नहेर्दा उनको छवि अझ मैलियो।

चुनावी प्रचारको समयमा जे बोल्यो त्यही अभिव्यक्ति विवादमा आएका स्थापितका मुख्य ५ विवादका विषय यस्ता रहेका छन्।

१. महानगरको उम्मेदवारी दर्ता गर्न सभागृह गएको दिन पत्रकार सम्मेलनमा उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपसम्बन्धी प्रश्नमा ‘मानसिक समस्याको औषधि खान केही पैसा लाग्दैन, म जत्तिको मान्छेको बेला बेलामा कुरा उठ्छ, उठेन भने म केशव स्थापित नै भइन नि! विवादमा नआउने केशव स्थापित हुन्छ ? आइराख्न पर्यो नि!’ भनेका थिए। उनले ५५० ओटा मुद्दा लाग्दा ५ वटा मुद्दा थपिबक्सियोस् भन्ने मान्छे हो भन्दै यौन हिंसा र मानसिक स्वास्थ्य सम्बन्धि मुद्दालाई हँसिमजाकमा उडाएका थिए।

२. काठमाडौँको एक कलेजमा आयोजित मेयरहरूसँगको अन्तर्क्रियामा कार्यक्रममा सहभागी एक विद्यार्थीले स्थापितलाई ‘तपाईँमाथि लागेको यौनहिंसाको आरोपमा के भन्नुहुन्छ ?’ भनी प्रश्न गर्दा स्थापितले रिसाएर ‘यू आर नाइस लेडी, तर थुतुनो ठीक छैन।’ भनेका थिए। त्यो अभिव्यक्ति समाजिक सञ्जालमा धेरै भाइरल भयो र उनको निकै आलोचना भयो।

३. चुनावी घोषणापत्र सार्वजनिक गर्दा उनले ‘पशुपति आर्यघाट मलामीलाई नै मरौँ–मरौँ लाग्ने बनाउँछु’ भनेका थिए। यस्तै उनले महानगरमा रक्सीको लाइसेन्स दिने लगायतका विवादित योजना पेश गरेका थिए।

४. नेपाल टेलिभिजनकी समाचार सम्पादक सलोजा दाहाललाई अन्तर्वार्ता सकिएपछि उनको शरीरिक बनावटलाई लिएर स्थापितले गरेको भद्दा टिप्पणीको पनि धेरै आलोचना र विरोध भएको थियो।

५. चुनावी प्रचार तथा पार्टी प्रवेशको कार्यक्रममा स्थापितले मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनेका थिए। उनले उक्त कार्यक्रममा ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । मसित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो ।

तर, हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ।’ स्थापितले बालेनले काठमाडौँलाई ठगेको र मधेसको मान्छे भनेर आउने आँट नगरेको अभिव्यक्ति दिएका थिए। उनको यो अभिव्यक्ति क्षेत्रीय विभेदपूर्ण अभिव्यक्ति भनि टिप्पणी भएको थियो।