देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा गफाडीहरु जन्मिएको बताएका छन् । मंगलबार नेकपा एस मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद कार्यक्रममा बोल्दै नेपालले देशमा अनेक किसिमका गफ दिने गफाडीहरु जन्मिएको बताएका हुन् ।
उनले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई इङ्कित गर्दै रेल ल्याउँछु, के ल्याउँछु भन्दै गफ दिएको बताए ।

‘जनताले के के न आउला भनेर आस गरे तर केही पनि आएन’ उनले भने । उनले हेटौंडाको मेयरमा निर्वाचित मीनाकुमारी लामालाई बधाई दिँदै विगतमा हेटौंडाका मेयरहरुले गरेका राम्रा कामहरूलाई आत्मसात गर्दै काम गर्न आग्रह गरेका छन् । ‘जनता र नेताको सम्बन्ध भनेको नङ र मासु जस्तै हो,’ उनले भने, ‘जनतासँगको सम्बन्धलाई बलियो बनाउनुस्, ।’ उनले आउँदो मंसिरभित्र नै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने बताए ।

आठ महिनाको छोटो अवधिमा यो उपलब्धि पार्टीको सानो उपलब्धी नभएको बताएका छन् । ‘शक्ति र संगठनलाई निर्माण गर्नुपर्दछ, असल गुण भएकाहरुलाई सम्मान गर्नुपर्दछ, उनले भने ‘हामीले असल मानिसहरुको खोजी गरिरहेका छौं, युवा पिँढी खोजिरहेका छौं ।’ उनले आफ्ना कार्यकताहरुलाई धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र निर्वाचित भएका हर्कराज राई साम्पाङजस्तै बन्न आग्रह समेत गरेका छन् ।

असल गुण भएको मान्छेलाई सम्मान गर्नुपर्ने भन्दै कार्यकर्ता र नवनिर्वाचित जनप्रतिनिधिहरूलाई पनि सोहीअनुसार काम गर्न निर्देशन दिए ।‘विभिन्न ठाउँमा कुनै गठबन्धनको सहयोग बिना नै हाम्रो सिंगो प्यानल विजयी भएको छ,’ उनले भने ‘गठबन्धनको प्रत्येक घटकहरुले चुनावमा भाग लिएका थिए तर सबैले आ–आफ्नो हैसियत मत परिणाममा देखेका छन् ।’