बालेनले किन सार्वजनिक गरे ९०८३५ मत ? यस्तो छ अर्थ

काठमाडौं –  स्थानीय तहको निर्वाचन हुनुअघि नै काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार बालेन साहले ९०८३५ मत ल्याएर आफूले चुनाव जित्ने भन्दै क्यालकुटेरमा मत सार्वजनिक गरे ।

जुन उनका समर्थकले सामाजिक सञ्जालमा भाइरल बनाए । चुनाव भएको छैन, यति मतले जित्छु भनेर कन्फिडेन्सका साथ बालेनले किन भने ? भन्ने विषय सर्वत्र चासोको विषय बन्यो ।

उनले विभिन्न मिडियामा दिएको अन्तर्वार्तामा पनि त्यही कुरा पटक पटक दोहोर्याए । तर, कांग्रेस, एमालेका कुनै पनि नेताले त्यसको वास्ता गरेनन् ।

अर्थात् बालेनले चुनाव जित्छु भनेर ढुक्कका साथ भनिरहँदा पनि उनले किन त्यसो भने भनेर खोज्न र अध्ययन गर्न नचाहेकै कारण अहिले कांग्रेस र एमालेका उम्मेदवार पछि परेका छन् ।

बालेनले ४२ हजारभन्दा बढी मत ल्याइसकेका छन् । उनले कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १७ हजारभन्दा बढी मतले पछि पारेका छन् । अहिलेकै भोट प्याटर्न हेर्दा बालेनले ९०८३५ मत ल्याउन नसक्ने स्पष्ट छ ।

उनले ६५ हजार मत ल्याएर चुनाव जित्ने अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकामा तीन लाख मतदाता छन् । बालेन चुनावअघिदेखि नै काठमाडौंका मतदाताको अध्ययन गर्न थालेका थिए ।

स्रोतका अनुसार बालेनले सबै मतदातालाई भन्दा पनि युवालाई टार्गेट बनाए । काठमाडौंको कोर एरियालाई भन्दा बाहिरी मतदातालाई प्राथमिकता दिए । जसमा एक लाखभन्दा बढी युवायुवती भएको उनले पाए ।

तिनै मतदातालाई लक्षित गर्दैै चुनावी क्याम्पेन सुरु गरे । सबैलाई सामाजिक सञ्जालमार्फत भोट मागे । विदेशमा रहेका युवायुवतीलाई पनि आफ्ना काठमाडौंमा रहेका मतदाता आमाबाबुलाई भोट हाल्न क्याम्पेन गरे ।

जुन अहिले उनले पाइरहेको मतले पनि पुष्टि गरेको छ । यदि स्थानीय निर्वाचनमा सवा दुई लाख मत खसेको भए बालेनले ढुक्कले ९०८३५ मत ल्याउने अनुमान गर्न सकिन्छ ।