ओली, प्रचण्ड र माधव मिलेमा के होला ?

काठमाडौं, ९ जेठ ।

नेपाली काँग्रेसभित्र संस्थापनइतरका नेताहरु गठबन्धनबीच तालमेलको विरोधमा थिए । तर, सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पेलेरै गए । उनले तालमेल जतिसक्दो धेरै ठाउँमा गराइछाडे । महानगरपालिका र उपमहानगरपालिकाहरुमा तालमेल भयो । कतिपय नगरपालिका र गाउँपालिकामा पनि तालमेल भयो ।

काँग्रेसले तालमेलबाट ३२० भन्दा बढी पालिका जितेको छ । तर, काँग्रेसको संस्थापनइतरका नेताहरु तालमेलबाट नोक्शान परेको तर्क गरिरहेका छन् ।

२०७४ को चुनावमा तालमेल नगर्दा काँग्रेसले २६६ पालिका जितेको थियो । त्यतिबेला सबै दल एक्लाएक्लै चुनाव लडेका थिए । यसपटक पनि कम्युनिस्ट पार्टीहरु मिलेर चुनाव लडेको भए काँग्रेसमाथि ठूलो चुनौती हुनसक्थ्यो । यो तीतो सत्यलाई काँग्रेसको संस्थापनइतरका नेताहरु मान्न तयार छैनन् ।

वास्तवमा गठबन्धनबीच तालमेल नभएको भए काँग्रेसलाई ठूलो धक्का पर्नसक्ने चुनावी नतिजाले देखाइसकेको छ । अर्कोतर्फ, एमाले फुटेको लाभ काँग्रेसले नै लियो ।

काँग्रेसले माओवादी, नेकपा एस र जसपासँग तालमेल नगरेको भए कम्युनिस्ट पार्टीहरुबीच नै तालमेल हुने वातावरण विकास हुन्थ्यो भन्ने पछिल्लो घटनाक्रमले देखाइसकेको छ । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मिलाउने पहल चलिसकेको छ ।

एमाले र माओवादीका दोस्रो र तेस्रो तहका नेताहरु पार्टी मिलाउन लागिपरेका छन् । प्रचण्डले आफूमाथि दबाब बढिरहेको भन्दै आएका छन् । माधव नेपाल चुनावी नतिजाप्रति सन्तुष्ट छैनन् । आफूहरुलाई बेवास्ता भएको भन्दै आएका छन् । झलनाथ खनालले ओलीसँगको एकताको सम्भावना औल्याइसकेका छन् ।

माओवादी नेता वर्षमान पुन प्रचण्ड र ओली मिलाउन सक्रिय छन् । अरु नेताहरुको पनि सक्रियता बढेको छ । यसले नयाँ घटना विकास हुनसक्ने देखिएको छ ।

ओली, प्रचण्ड र माधव नेपाल मिलेर चुनाव लडेमा काँग्रेसले ठूलो धक्का खाने अवस्था बन्न सक्छ । त्यतिबेला विकल्पमा काँग्रेसले पनि वृहत लोकतान्त्रिक एकताको विकल्प रोज्न सक्छ । अर्थात्, काँग्रेसका लागि राप्रपा, जसपा, लोसपा जस्ता दलहरुसँग सहकार्यको विकल्प रोज्नुपर्ने वाध्यता हुनसक्छ । गैर कम्युनिस्ट शक्तिबीच चुनावी तालमेल भएमा ओली, प्रचण्ड र माधव नेपाललाई मिल्दा पनि आफ्नो दललाई चुनाव जिताउन सजिलो नहुनसक्छ ।